चाँगुनारायण विपद् बुलेटिन बिमोचन

5

खरिपाटी, भक्तपुर । चाँगुनारायण नगरपालिकाद्धारा विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम तथा गतिविधिहरुलाई समेटेर तयार गरेको चाँगुनारायण विपद् बुलेटिन बिमोचन गरिएकोछ ।
विपद् बुलेटिनको विमोचन चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख श्री रमेश बुढाथोकी तथा प्रमुख प्रशासकीय अधिकृत श्री शिवप्रसाद हुमेगाइँले संयुक्त रुपमा गर्नुभएको थियो ।
विमोचन कार्यक्रममा बोल्नुहुदै नगर उपप्रमुख रमेश बुढाथोकीले २०८१ को मनसुन शुरु हुनपूर्वनै नगरपालिकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरेकोले प्रभावकारी रुपमा प्रतिकार्य गर्न सकिएको बताउनुभयो ।
साथै उहाँले असोज १० देखि १२ गते सम्मको अधिक वर्षाका कारण मानवीय क्षति नभए पनि भौतिक रुपमा विभिन्न स्थानमा क्षति पुगेको बताउनुभयो ।


चाँगुनारायण नगरपालिकाले गरेको पूर्वतयारी तथा प्रतिकार्यको जिल्ला विपद् व्यवस्थापन समिति र सुरक्षा निकायहरुले प्रशंसा गरेको कुरा बताउनुहुँदै नगर उपप्रमुख बुढाथोकीले मनसुनजन्य विपद्को पूर्ननिर्माणका लागि नियमित योजनाहरुबाट १० प्रतिशत काटेर विपद् व्यवस्थापन कोषमा राख्ने निर्णय नगरपालिकाले गरेको बताउनुभयो ।
विमोचन कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइँले जिल्ला विपद् व्यवस्थापन समिति, नगर भित्रका राजनैतिक दलहरु, स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, नगर प्रहरी लगायत विपद् व्यवस्थापन इकाई, स्वयंसेवक र जनप्रतिनिधिहरुको सहकार्य, समन्वय र प्रयासले मनसुनजन्य विपद्को अवस्थामा तत्काल प्रतिकार्य र क्षति न्यूनीकरणमा सहयोग पुगेको बताउनुभयो ।


उहाँले असोज १० देखि १२ को अधिक वर्षात्का कारण क्षति पुगेको बेथानचोक गाँउपालिका, रोशी गाँउपालिका र नमोबुद्ध नगरपालिकालाई चाँगुनारायण नगरपालिकाको तर्फबाट खाद्य सामग्री सहयोग गरेको जानकारी पनि दिनुभयो ।
विपद् जोखिम न्यूनीकरण सम्बन्धि सुचना तथा सन्देश सहितको बुलेटिनमा २०८१ सालको मनसुनमा नगरपालिकाले गरेको पूर्वतयारी, प्रतिकार्य, नगरपालिका क्षेत्रमा भएका क्षति, विपद् व्यवस्थापन सम्बन्धि गतविधि र कार्यक्रमहरु, राहत वितरण, २०८१ सालको विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम तथा योजनाहरु, साझेदार संस्थाका कार्यक्रमहरु समावेश गरिएको नगरपालिकाका विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापाले जानकारी दिनुभयो ।
विमोचन कार्यक्रममैआज विहान नगर प्रमुख जीवन खत्रीज्यूले रक्तदान गरी उद्घाटन गर्नुभएको रक्तदान कार्यक्रमका स्वयंसेवी रक्तदाताहरुलाई नगर उपप्रमुख श्री रमेश बुढाथोकीले प्रशंसापत्र वितरण गर्नुभयो । आज नगरपालिकामा सञ्चालित रक्तदान कार्यक्रममा नगर प्रमुख, कार्यपालिका सदस्यहरु र कर्मचारीहरु गरि ३० जना महानुभावहरुले रक्तदान गर्नुभएको थियो ।