पर्यटन प्रवर्धनका लागि मध्यपुरमा तीन दिने मध्यपुर महोत्सव गरिने 

19

भक्तपुर । मध्यपुर थिमीको पर्यटन प्रवर्धन तथा स्थानीय कला खाना तथा संस्कृति एकै पटक देखाउने गरी मध्यपुर महोत्सव गर्ने भएको छ । मध्यपुरको करिब साँढे पाँच किलोमिटर लामो क्षेत्रमा यो महोत्सवको आयोजना गरिने मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते मध्यपुर महोत्सव २०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो ।

पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनुपर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर स्थानीय अर्थतन्त्रलाई थप गतिशील एवम् प्रगतिशील बनाउन सकिन्छ भन्ने अवधारणामा महोत्सव आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ ।

पर्यटनबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष र उत्प्रेरित आर्थिक प्रभावलाई आत्मसाथ गरी स्थानीय अर्थतन्त्रका विभिन्न पक्षहरूमा गुणात्मक रूपान्तरण आजको आवश्यकता रहेको भन्दै पर्यटन प्रवर्द्धनका विविध पाटाहरू मध्ये विभिन्न अवसर र आकारमा आयोजना गरिने महोत्सव पर्यटन विकासको दिगो आधार र प्रवर्द्धनको प्रभावशाली औजार हुने पनि जनाएको छ ।

मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहिलो पटक बि।सं। २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा मध्यपुर महोत्सव आयोजना गरिएको थियो। यसको साथै विभिन्न समयमा आयोजित वः महोत्सव, धिमे बाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, भजन गायन प्रतियोगिता लगायतका कार्यक्रमहरूले नगरलाई आन्तरिक एवम् बाह्य पर्यटकको आँखासम्म प्रभावकारी ढङ्गले पुर्‍याएको मीठो अनुभव छ ।

भक्तपुर, चाँगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वाराको रूपमा रहेको काठमाडौँ उपत्यकाको केन्द्र भागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्त्विक एवम् सांस्कृतिक सम्पदाले सुसम्पन्न छ । थिमी र बोदेजस्ता लिच्छविकालीन बस्तीको साथै नगदेश, तिगनि, निकोसेरा र लोहकीथलि लगायतका ऐतिहासिक बस्तीहरू रहेको यस नगरको कला, संस्कृति, परम्परागत पेसा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्त्विक सम्पदा र मौलिक जीवनशैलीले पर्यटकीय आकर्षण बढ्दै गएको छ ।

झन्डै ७५० को सङ्ख्यामा सानाठूला मूर्त सम्पदा एवम् १०० भन्दा बढी अमूर्त सम्पदाहरू रहेको यस नगरपालिकाको ३२ खतको बिस्काजात्रा, म्ये प्वाः खनिगु ९जिब्रो छेड्ने० जात्रा, लोकेश्वर जात्रा, छाप्याखं (नीलबाराही गण नाच) जात्रा, पुलुकिसी जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखं ९इन्द्र अप्सरा नाच० विशेष रूपले चर्चित छ ।

त्यसै गरी तिकिंवजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुन्डो जस्ता परम्परागत पेसा र उत्पादनले यस नगरलाई सुपरिचित बनाएको छ। आधुनिकीकरण तर्फ दूत गतिमा अग्रसर रहेर पनि यस नगरले आफ्नो कला, संस्कृति, पेसा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्त्विक स्मारक र परम्परागत जीवनशैलीलाई आज पर्यन्त जीवन्त राखेको छ ।