काठमाडौं।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार धमेन्द्र झाले नेपाल प्रेस युनियनको सल्लाहकार पदबाट राजीनामा दिएका छन्। झाले सामाजिक सञ्जालमार्फत नेपाल पत्रकार महासंघको निर्वाचनमा युनियनले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै सल्लाहकार पद त्यागेको घोषणा गरेका हुन्।
झाले आफ्नो पोस्टमा निर्वाचनको निर्णय प्रक्रियामा कुनै सल्लाह नलिइएको र सल्लाहकारको भूमिका औपचारिक मात्र बनेको उल्लेख गरेका छन्। उनले भने, “सल्लाह नलिने, सल्लाह नमाग्ने र सल्लाह आवश्यक नै नपर्ने ठाउँमा सल्लाहकार भन्दै बसिरहनुको के तुक भयो र? छोडियो।”
युनियनको निर्णयप्रति असन्तुष्टि
नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा प्रेस युनियनले अध्यक्षसहितका महत्वपूर्ण पदहरू एमालेनिकट प्रेस चौतारीलाई जिम्मा दिएको विषयमा झाले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले सल्लाहकार पदमा आफू बसेको भए पनि निर्वाचनको विषयमा कुनै परामर्श नगरिएको र आफ्नो असन्तोष स्पष्ट रूपमा प्रकट गरेका छन्।
झाले पोस्टमार्फत भनेका छन्, “मेरा साथीहरूसँग रहिरहन त पदै किन चाहियो? म सधैं साथीहरूसँग छु र रहिरहनेछु। मेरो कसैप्रति कुनै गुनासो छैन, जे छ, आफैँसँग छ।”
झाको राजीनामापछि प्रेस युनियनभित्रको निर्णय प्रक्रिया र सल्लाहकारको भूमिकाबारे बहस चर्किएको छ।