भक्तपुर । उदय बचत तथा ऋण सहकारी संस्थाको बचत तथा व्यवसाय प्रवर्द्धन उपसमितिले यही माघ ७, ८ र ९ गते तीन दिने घरेलु उपकरण मर्मत तालिमको आयोजना गर्ने भएको छ।
गृहिणीहरूलाई लक्षित गर्दै हुने यस तालिममा मिक्सचर, फ्रिज, इलेक्ट्रिक जग, र ग्यास चुल्होको सामान्य मर्मतसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिनेछ। यो जानकारी संस्थाका कोषाध्यक्ष तथा उपसमितिका संयोजक शिवराम बोहजूले दिएका छन्।
तालिममा सहभागी हुन इच्छुकहरूले माघ ५ गतेभित्र रु २०० तिरेर संस्थाको लिवालीस्थित कार्यालयमा नाम दर्ता गराउन सक्नेछन्।
यसैगरी, यही पुष २० गते शनिबार रु २०० शुल्कमै एकदिने झोल तथा डल्लो साबुन बनाउने तालिम पनि आयोजना हुने साकोसले जानकारी दिएको छ । उक्त तालिममा सहभागी हुनका लागि पुष १९ गतेभित्र नाम दर्ता गर्न सकिने संस्थाका व्यवस्थापक पुण्यराम गोसाईले जानकारी दिएका छन्।
यस्ता तालिमहरूले समुदायका सदस्यहरूलाई नयाँ सीप सिक्ने अवसर प्रदान गर्दै आत्मनिर्भर बन्ने दिशामा सहयोग पुर्याउने अपेक्षा गरिएको गोसाईले भने।