एयरपोर्टबाटै ट्याक्सी व्यवसायीको ठगी धन्दा सुरु, स्वदेशी र विदेशी पर्यटक मारमा

13

रुषा थापा

भक्तपुर  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको सबैभन्दा पुरानो विमानस्थल हो । सरकारले अन्य विमानस्थल सञ्चालनमा ल्याए पनि त्रिभुवन विमानस्थलमा यात्रुको चहलपहल घट्न सकेको छैन । विभिन्न देशबाट नेपाल घुम्न विदेशी पर्यटकदेखि वैदेशिक रोजगारीबाट फर्किएका वा विभिन्न काम, घुमफिरको निम्ति विदेश गएका नेपाली नागरिकहरू स्वदेश फर्किदा सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै ओर्लिन्छन् ।

त्यस्तै, मुलुककै एकबाट अर्को भूभागमा विमानमार्फत आउजाउ गर्नेहरू पनि विमानस्थल पुग्छन् वा ओर्लिन्छन् । त्रिभुवन विमानस्थलमा दैनिक लाखौँ सर्वसाधारणको चहलपहल हुने गर्दछ । कोही विदेश जान लागेका हुन्छन् भने कोही विदेशबाट आउन लागेका आफ्ना आफन्त कुरेर बसिरहेका हुन्छन् । परदेशबाट स्वदेश फर्किएका उनीहरु आफ्नो मातृभूमि टेक्दा खुसीले गद गद हुन्छन् ।

तर, स्वदेश टेक्नासाथ उनीहरूको दुःख, हैरानी सुरु हुन्छ । उनीहरू ठगीमा पर्छन् । नेपाल घुम्न आएका विदेशी पर्यटक होस् या विदेशबाट फर्किएका स्वदेशी नागरिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्नासाथ ट्याक्सी खोज्न थाल्छन् । हातमा सुटकेस अनि भारी ब्याग हुने हुँदा बसमा जाने अवस्था नभएपछि विमानस्थलमै ट्याक्सी खोज्न थालिन्छ । यो नेपाल घुम्न आउने विदेशी पर्यटक वा स्वदेशी नागरिकहरूको यथार्थ हो ।

विमानस्थलमा थुप्रै ट्याक्सी भेटिन्छन् । यद्यपि, ट्याक्सी चालकहरू मागे जति भाडा नदिएमा लैजान मान्दैनन् । विमानस्थलमा सीमित ट्याक्सी मात्र छ । जसको फाइदा ती ट्याक्सी व्यवसायीहरूले मज्जाले उठाइरहेका छन् । त्यो त एयरपोर्टमा चल्ने सबै ट्याक्सी थोत्रोमोत्रा, पुराना भइसकेका छन् । कुनै ट्याक्सीको सिट च्यापिएको छ भने कोही ट्याक्सी फोहोर, दुर्गन्धले बसिटिक्नु हुँदैन । फेरि यस्ता ट्याक्सीमा महँगो भाडा तिरेर स्वदेशी तथा विदेशी पर्यटक यात्रा गर्न बाध्य भइरहेका छन् ।

एयरपोर्टमा ट्याक्सीको सङ्ख्या सीमित अनि थोरै छ । केही सीमित ट्याक्सी व्यवसायीहरूको त्यहाँ दशकदेखि रजगज चलिआएको छ । यद्यपि, सरकार पनि सिन्डिकेट तोड्न ध्यान दिँदैन । अहिले एयरपोर्टमा सञ्चालनमा रहेका ट्याक्सी कबाडको अवस्थामा पुगिसकेका छन् । अन्य विदेशी मुलुकमा सर्वसाधारणका निम्ति समेत लक्जरी यात्रा चलिरहँदा हाम्रोमा भने पर्यटक समेत थोत्रोमोत्रा, पुराना ट्याक्सीमा महँगो भाडा तिरेर चढ्नु परिरहेको छ ।

अनि विमानस्थलमा सञ्चालनमा रहेका यस्ता कबाड ट्याक्सीले विदेशी पर्यटकहरूमा कस्तो प्रभाव पर्ला ? पक्कै पनि यसले समग्र मुलुककै अन्तर्राष्ट्रिय रूपमा बेइज्जत हुने देखिन्छ । पर्यटक बोक्ने भन्दै २०२९ सालमा संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालय मातहत हरियो प्लेटको दुई सय सात ट्याक्सी दर्ता भयो । ०७० सालमा त्यो ट्याक्सी विस्थापन भयो र त्यसैको नम्बर प्लेटमा नयाँ ट्याक्सी दर्ता गरियो । जसले न ट्याक्सीको सङ्ख्या बढ्यो न सिन्डिकेट नै तोड्यो । एयरपोर्टमा ०२९ सालदेखि ट्याक्सीमा सिन्डिकेट छ । त्यति बेला दुई सय सात ट्याक्सी सञ्चालन अनुमति दिइएकोमा अहिले पनि त्यति नै छ ।

जबकि यसबिचमा सरकारले दर्जन बढी देशसँग श्रम सम्झौता गरिसकेको छ । एयरपोर्टमा दिनानुदिन दिन भीड बढ्दै गएको छ । दैनिक लाखौँ बढी सर्वसाधारणको चहलपहल हुने एयरपोर्टमा ट्याक्सीको सङ्ख्या भने जम्मा दुई सय हुनु आफैँमा लज्जास्पद छ । यसले अन्तर्राष्ट्रियस्तरमा नेपालप्रति कस्तो सन्देश गइरहेको होला ? यसबारे सरकार गम्भीर हुन आवश्यक छ । अहिले एयरपोर्टमा सञ्चालित हरियो प्लेटको ट्याक्सीमा मिटर छैन ।

सरकारले ट्याक्सीको भाडा चढ्ने बित्तिकै ५० रुपैयाँ र प्रत्येक किलोमिटर ५० रुपैयाँ तोकेको छ । मीटरजडित ट्याक्सीले राति मात्र डेरी हान्न पाउँछ । तर, एयरपोर्टमा सञ्चालित ट्याक्सीले दिउँसै डेरी हान्न पाउँछन् । अहिले एयरपोर्टमा चलिरहेका ट्याक्सीहरूले ठमेलसम्म गएको पाँच हजार रुपैयाँसम्म भाडा असुल्ने गरेका छन् । स्वदेशी तथा विदेशी नागरिकहरू यत्रो महँगो भाडा तिरेर ट्याक्सी चढ्न बाध्य छन् ।

किनकि एयरपोर्टमा हतपत ट्याक्सी पाइँदैन । ट्याक्सी पाए पनि चालकसँग भाडाको विषयमा मोलमोलाइ गर्नुपर्छ । अनि बोल्न नसक्ने यात्रुहरू त नराम्ररी ठगिने गर्छन् । अहिले विशेष गरी ट्याक्सीबाट ठगिनेबाट विदेशी पर्यटक छन् । ट्याक्सी व्यवसायीले मागे जति भाडा उनीहरू दिन्छन् । एकातिर अनजान देश अर्कोतिर भाषाको समस्या हुँदा ट्याक्सी व्यवसायी जति भन्छन्, त्यति नै तिरेर विदेशी पर्यटकहरू यात्रा गर्छन् । फेरि ट्याक्सीको अवस्था भने बसिसक्नु हुन्न ।

एयरपोर्टका ट्याक्सीहरूले यात्रुलाई त ठग्छन् नै सँगै होटेल, रेस्टुरेन्ट व्यवसायीसँग कमिसन खाएर यात्रुलाई महँगो होटेल पुराउँछन् । त्यहाँ केही दिन बस्दै उनीहरूको लाखौँ रकम खर्चिने गर्छ । कुनै पनि देशमा विदेशी पर्यटक आउँदा वा जाँदा उनीहरूले सर्वप्रथम विमानस्थल हेर्छन् । त्यसपछि सेवा सुविधा । अन्य मुलुकमा विमानस्थलमा ट्याक्सीहरू जति पनि पाइन्छ, त्यो पनि लक्जरी अनि सस्तो भाडामा । विदेशी देशहरूमा ट्याक्सीको भाडा हाम्रो बस भाडाभन्दा सस्तो छ ।

हामी कहाँ भने एक चोटि ट्याक्सी चढ्दा एक महिनाको खर्च सकिन्छ । अहिले विदेशबाट आएका स्वदेशी तथा विदेशी पर्यटकहरू विमानस्थल ओर्लनासाथ ठगीको सिकारमा पर्छन् । अनि एयरपोर्टबाटै ठगीमा परेपछि अन्य क्षेत्रमा पनि ठगिनु स्वाभाविकै भइहाल्यो । एयरपोर्टमा त सर्वसाधारण, विदेशी पर्यटक ट्याक्सीबाट ठगिन्छन् नै सँगै बाहिर पनि यस्तै अवस्था छ ।

ट्याक्सी काठमाडौँ उपत्यकामा मात्र सञ्चालनमा छ । त्यो पनि विशेष गरी राजधानीमा । इन्द्रचोक, ठमेल, न्यूरोडलगायत काठमाडौँका व्यापारिक क्षेत्रबाहेक अन्य ठाउँमा ट्याक्सी पाउन मुस्किल पर्ने गर्छ । ट्याक्सी चालकहरू यात्रुसँग मनलाग्दी भाडा असुल्छन् । मिटरमा हिँड्दैनन् । न त यात्रुले भनेको ठाउँमै जान मान्छन् । उपत्यकामा करोडौँको हाराहारीमा जनसङ्ख्या छ । यद्यपि, ट्याक्सीको सङ्ख्या भने सीमित छ ।

उपत्यकावासीहरूले बिरामी वा हतार हुँदा ट्याक्सी पाउँदैनन् । ०५७ जेठ १७ गते कालो प्लेटको ट्याक्सीको दर्ता बन्द भएको हो । त्यतिखेर साढे सात हजार ट्याक्सी दर्ता भएका थिए । त्यसमध्ये पाँच हजार ६५० पेट्रोल र १८५० डिजेलबाट चल्ने दर्ता भएको थियो । डिजेलबाट चल्ने ट्याक्सी एक–डेढ वर्ष मात्र चल्यो र विस्थापन भयो । ०५७ सालपछि उपत्यकामा जनसङ्ख्या ह्वात्तै बढेको छ । सो बेला लाखको हाराहारीमा रहेको जनसङ्ख्या अहिले करोडमाथि पुगिसक्यो ।

तर, ट्याक्सीको सङ्ख्या भने घटेको पाइन्छ । ०७२ जेठ २८ गते सरकारले १८ सय ५० ट्याक्सीको दर्ता खोल्यो । यातायात व्यवस्था विभागले ती ट्याक्सी किन्न इच्छुकलाई साउन २० गतेदेखि भदौ २ गतेसम्म आवेदन दिन १५ दिने सूचना निकाल्यो । राजस्व शुल्क एक हजार दश रुपैयाँ तोकिएको थियो । ती ट्याक्सी किन्न १५ हजार ७५१ जनाले आवेदन बुझाए । पछि १८५० जनाले गोला प्रथाले ट्याक्सी पाए भने बाँकी रित्तो रहे ।

०७२ वैशाख १२ गते महाभूकम्प गयो र १४ जिल्लामा क्षति पुग्यो । ०७२ चैत २१ गते सरकारले भूकम्पपीडितलाई १५ सय ट्याक्सी दिने निर्णय गर्‍यो । ०७३ साउन ५ गतेदेखि भदौ ५ गतेसम्म ट्याक्सी किन्न इच्छुक भूकम्पपीडितहरूलाई फाराम बुझाउन आह्वान गरियो । फाराम बुझाउँदा एक सय दश रुपैयाँ राजस्व बुझाउनुपर्थ्यो भने भूकम्पपीडित भएको रातो कार्ड चाहिन्थ्यो । एक महिनामा एक लाख ४९ हजार ५५८ जनाले फाराम बुझाए । १५ सयले गोला प्रथाले ट्याक्सी पाए भने बाँकीले पाएनन् ।

मुलुकमा ट्याक्सी किनेर व्यवसायी गर्न चाहने यत्रो नागरिक छन् भनेर यी घटनाक्रमले स्पष्ट देखाउँछ । यद्यपि, सरकार नयाँ ट्याक्सीको दर्ता खोल्दैन । किनकि ठग ट्याक्सी व्यवसायीसामु सरकार निरीह बनेको छ । व्यवसायीहरू न आफू सस्तोमा सेवा दिन्छन् न सरकारलाई नयाँ ट्याक्सीको दर्ता नै खोल्न दिन्छन् । अहिले पनि २० वर्ष पुगेका ट्याक्सीको स्काइभ गरेको नम्बर प्लेट लाखौँमा खरिदबिक्री भइरहेको छ । नयाँ विद्युतीय गाडी किनेर त्यो नम्बर प्लेटमा दर्ता गरेर चलाइरहेको छ । जसले नयाँ ट्याक्सी देखिए पनि त्यो पुरानै हो ।

ट्याक्सीको दर्ता उपत्यकामा मात्र होइन, देशभर बन्द छ । त्यसैले, अब सरकारले नयाँ ट्याक्सी, फोस्टक ट्याम्पो, ढुवानी गाडीको नयाँ दर्ता खोलेर यो क्षेत्रमा भएको सिन्डिकेट तोड्नै पर्छ । स्वदेशी तथा विदेशी नागरिकहरूले मुलुकमा सस्तोमा ट्याक्सी चढ्न पाउनुपर्छ ।