भक्तपुर । वनमाला समुदायको उत्थानका लागि स्थापित वनमाला उत्थान बहुउद्देश्यीय सहकारीको ११ औं साधारणसभा सम्पन्न भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नंं ९, ताथलीको वनमाला टोलमा रहेको सो सहकारीको ११ औं साधारण सभा सोमबार(पुस २९ गते) सम्पन्न भएको हो । सो सभाको उद्घाटन चाँगुनारायण नगरपालिकाका कार्यपालिका सदस्य कमला गिरी भारतीले गरिन् ।
सो क्रममा कार्यपालिका सदस्य गिरीले सहकारीले सहकार्य र सामुहिक भावना विकासका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सहकारीले वनमाला समुदायमा उद्यमशीलता विकासका लागि लगानी गर्न अनुरोध गरिन् । उनले वनमाला समुदायको पुख्र्यौली पेशाको रुपमा रहेको पुष्प व्यवसायलाई व्यावसायिकरण गर्नका लागि सहकारीले तालिमका साथै बजारीकरण गर्न सकिने धारणा राखिन् ।
नगरपालिकाले वातावरण सुधारका क्षेत्रमा विशेष काम गरिरहेको चर्चा गरेकी उनले उक्त कामलाई समुदायस्तरबाटै सफल बनाएर टोल र समुदायलाई नमूना बनाउनका लागि सामुहिक पहल गर्नुपर्नेमा जोड दिइन् ।
सो क्रममा उनले संस्थाका ज्येष्ठ सदस्य, असल ऋणी, असल बचतकर्ता, उच्चतम शेयर खरीदकर्ता, असल बाल बचतकर्ताका साथै ताथली धिमय् खलः लाई सम्मान समेत गरेकी थिइन् । कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्यद्वय क्रमशः जमुना वनमाला र जीतबहादुर वनमाला, असल ऋणीतर्फ रघुनाथ खड्का, असल बचतकर्तातर्फ शेषनारायण प्रसाईँ, उच्चतम शेयर खरीदकर्ता पूर्णबहादुर मिजार, असल बाल बचतकर्ताहरु रोणक वनमाला र रोजन तामाङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ताथली बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष एकबहादुर खत्रीले ताथलीका रहेका दर्जन बढी सहकारीहरुमध्ये केही सहकारीहरुले मात्र सहकारीको सिद्धान्तलाई पालना गरिरहेको उल्लेख गरे । उनले स्थानीय व्यक्तिहरुको प्रत्यक्ष निगरानीमा सञ्चालनमा रहेका सहकारीहरुले सहकारी सदस्यहरुको वित्तीय समस्या समाधान गर्न सघाउ पुर्याइरहेको जनाउँदै ताथलीमा रहेका सहकारीहरुबीच एकीकरण गर्न सके ताथलीवासीले थप लाभ लिने उल्लेख गरे ।
सोही कार्यक्रममा सयपत्री साकोस्का प्रतिनिधि नारायणभक्त थुयाजूले सहकारीकर्मीहरुले समाजमा सामुहिक भावना विकासका लागि वातावरण बनाउनुपर्ने बताए भने सो सहकारीका लेखापरीक्षक चुडामणि शर्माले सहकारीको अवस्थाबारे चर्चा गर्दै साधारणसभामा शेयर सदस्यहरुले सक्रिय सहभागिता जनाउनुपर्ने आवश्यकता औंल्याए ।
चौथो अधिवेशन समेत भएको उक्त सभाले सहकारीमा नयाँ कार्यसमिति पनि चयन गरेको छ । सभाले सहकारीको सञ्चालक समितिको अध्यक्षमा विष्णुभक्त वनमाला, उपाध्यक्षमा इन्द्रबहादुर वनमाला, सचिवमा समीर वनमाला र कोषाध्यक्षमा रत्नलाल वनमालालाई निर्विरोध चुनेको छ ।
त्यस्तै सदस्यहरु क्रमशः इन्द्रलाल वनमाला, सविना वनमाला र सत्यराम वनमालाका साथै लेखा सुपरीवेक्षण समितिका संयोजक विजय थापा वनमाला, सदस्य कुमार वनमाला र तारामाया वनमाला पनि निर्विरोध निर्वाचित भएका निर्वाचन मण्डलका संयोजक एकबहादुर खत्रीले जानकारी दिए । सो कार्यक्रममा सहकारीका कोषाध्यक्ष सत्यराम वनमाला र अध्यक्ष विष्णु वनमालाले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप प्रगतिउन्मुख बनाउने प्रतिवद्धता जनाएका थिए ।
सञ्चारकर्मी हरिसुन्दर छुकांले सञ्चालन गरेको उक्त सभामा उनले सहकारीले समाजमा पुर्याएको योगदानबारे चर्चा गर्दै सहकारी अभियानमा देखिएका कमजोरीलाई पन्छाउँदै अघि बढ्न सुझाव दिएका थिए ।
उक्त सहकारी वि.सं.२०७० सालमा स्थापना भएको थियो । हाल सहकारीमा ३५६ सदस्यहरु रहेका छन् । सहकारीको कूल पूँजी रु. ७१ लख ४५ हजार ५५८ पुगेको छ ।