भक्तपुर । अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल एडभेन्चर, पञ्चमाने, तारकेश्वर-३, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नजिक रहेको यो स्थानले विद्यार्थीहरूका लागि प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्त्व र साहसिक अवसरहरूको मिश्रण प्रदान गरेको थियो।
विद्यालयको वार्षिक कार्यतलिकानुसार यस साहसिकता, सिकाइ र मनोरञ्जनको मेल रहेको कार्यक्रम चिया ब्रेक र न्यानो स्वागतसँगै सुरु भयो। त्यसपछि शिक्षक बेबिश देशमरूले सञ्चालन गरेको अभिमुखीकरणमा सहभागीहरूलाई समूहमा विभाजन गरियो। कार्यक्रम संयोजक मनिता नेपालले क्याम्पका नियमहरू प्रस्तुत गर्दै सहभागीहरूको अनुभवलाई सहज र रमणीय बनाउने प्रयास गरिन्।
विद्यार्थीहरूले जिप-लाइनिङ, ट्रीटप एडभेन्चर र वाल क्लाइम्बिङजस्ता धेरै रोमाञ्चक गतिविधिहरूमा अनुभवी साहसिक गाइडहरूको निर्देशनमा भाग लिए। त्यस्तै, शिक्षिका कृषला बयालकोटीले ‘नेतृत्व र व्यक्तित्व विकास’ विषयमा र कार्यक्रम संयोजक नेपालले ‘ व्यक्तिगत विकास र चेतनशील ‘ विषयमा सहजीकरण गरिन् । उक्त सहजीकरणले विद्यार्थीहरूको सिकाइ अनुभवलाई अझ समृद्ध बनायो। अर्की शिक्षिका रेनुका श्रेष्ठले आयोजना गरेको रमाइला खेलहरूले क्याम्पलाई अझ रोचक बनाएको थियो।
पहिलो दिनको प्रमुख आकर्षण क्याम्पफायर सेसन थियो, जहाँ विद्यार्थीहरूले आफ्ना अनुभवहरू व्यक्त गर्दै गीत, नृत्य र रमाइला कथाहरू साटासाट गरे। साँझको स्वादिष्ट खानासँगै पहिलो दिनको कार्यक्रम समाप्त भएको थियो। सहभागीहरूले परम्परागत शैलीका घरहरूमा रात बिताए, जसले उनीहरूलाई न्यानो र आरामदायी वातावरण प्रदान गरेको थियो।
दोस्रो दिन बिहान प्रार्थना र वनको शान्त वातावरणमा ध्यानबाट सुरु भयो। त्यसपछि शिवपुरी राष्ट्रिय निकुञ्ज, तारकेश्वर महादेव मन्दिर, पाँचमाने भञ्ज्याङ र भुवनेश्वरी मन्दिरको कुशल गाइडको सहयोगमा पैदलयात्रा गरियो। यस यात्राले विद्यार्थीहरूलाई त्यस क्षेत्रको जैविक विविधता र सांस्कृतिक सम्पदाको जानकारी गरायो।
पैदलयात्राबाट फर्किएपछि, विद्यार्थीहरूले परम्परागत सिकाइ र पशुपालनको अनुभव गरे। उनीहरूले ढीकी, जाँतो, ठेकी र मदानीजस्ता कृषि औजारहरूको अध्ययन गर्दै नेपालको परम्परागत अभ्यास र संस्कृतिबारे गहिरो ज्ञान हासिल गरे।
क्याम्प समापन समारोहमा विद्यार्थीहरूले सिर्जनात्मक लोगो र फेस पेन्टिङ प्रस्तुत गरे। विद्यालयकी प्रशासक श्री इन्दु दुवालले प्रमाणपत्र वितरण गरिन् भने उत्कृष्ट सहभागीहरूलाई विशेष उपाधिहरू प्रदान गरियो। जसअन्तर्गत ग्लेसियर गार्जियनमा आरुष हुमागाईं, फ्रोस्ट एक्सप्लोररमा सुर्चभ भुजु, स्पिरिट अफ एडभेन्चरमा नामकेल तामाङ, क्याम्पफायर हिरोमा डलिशा महत, चिल च्याम्पियन्समा रिमेश थापा मगर, विन्टर वारियरमा देभम दुवाल, स्नो सर्वाइभरमा निरुपा श्रेष्ठ र सर्वश्रेष्ठ सहभागीाा ईशाना राजलट हुन सफल भए ।
सहभागी शिक्षक तथा शिक्षिकाहरूलाई माया चिनो प्रदान गर्दै कार्यक्रमका संयोजक नेपालले सबै सहभागीहरू, शिक्षकहरू र बन जंगल एडभेन्चरको सहयोगी टोलीलाई धन्यवाद दिइन्। क्याम्पका सहभागी विद्यार्थीहरु पुनम श्रेष्ठ र निशिला भुजुले क्याम्पमा सोचेको भन्दा अधिक मज्जा र अनुभव पाएको प्रतिक्रिया बताए।
विन्टर क्याम्प २०८१ पूर्णरूपमा सफल भएको थियो। यसले विद्यार्थीहरूलाई अविस्मरणीय सम्झना, निखारिएका सीपहरू र आपसी सहकार्यको भावना प्रदान गर्दै, अक्सफोर्ड प्राक्टिकल स्कूलको अनुभवजन्य शिक्षालाई प्राथमिकता दिने उद्देश्यलाई बलियो बनाएको थियो।