मध्यपुर थिमिमा क्यान्सर रोगको सचेतनामूलक अभिमुखीकरण सम्पन्न 

32

भक्तपुर । मध्यपुर थिमि नगर क्षेत्रका महिलाहरूलाई स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धी चेतना अभिवृद्धि गर्न सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन भएका छन् ।

क्यान्सर रोग विरुद्ध सचेत गराउने र समयमै रोगको लक्षण थाहा पाएर उपचार गरेमा क्यान्सर रोग पनि रोकथाम गर्न सकिन्छ भने जनचेतना जागरण गर्न मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४, ५ र ६ वडामा ३ दिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

मध्यपुर थिमि नगरपालिकाको सहकार्य एवं जनस्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको आयोजनामा महिलाहरूको स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम बालकुमारी, भुलाँखेल र पाटी बिहारमा सञ्चालन गरेर गृहिणी महिलाहरू क्यान्सर रोगको  लक्षण, रोकथामका उपाय, उपचारमा पाइने सरकारी सेवा सुविधा, ओषधी उपचार व्यवस्था, दैनिक जीवनयापनमा अपनाउनु पर्ने स्वास्थ्य सचेतना र सतर्कता  लगायतमा ज्ञान दिइएको कार्यक्रम संयोजक कन्या मन्दिर प्रजापतिले वताउनु भयो ।

प्रत्येक वडाबाट ३०-३० जना लक्षित महिलाहरू सहभागी भएको कार्यक्रम व्यवहारिक  र उपलब्धिमूलक रहेको सहभागी महिलाहरूले बताएका छन् । यस्ता सचेतना मुलुक कार्यक्रमहरू नगरपालिका भरि बृहत् रूपमा सञ्चालन गर्नु पर्ने माग पनि सहभागीहरूको रहेका छन् ।

जनस्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापति र भक्तपुर क्यान्सर अस्पतालका नर्सिङ प्रमुख लक्ष्मी श्रेष्ठले सहभागी महिलाहरूलाई स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धी अपनाउनु पर्ने दैनिक जीवनको व्यवहारिक पक्षमा अभिमुखीकरण र स्वास्थ्य शिक्षा दिइएको थियो ।

अभिमुखीकरण कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पात्य श्रेष्ठ, ५ नं. वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ र ६ वडा अध्यक्ष ज्ञानदास प्रजापतिको पनि क्यान्सर रोग विरुद्ध समाजका महिलाहरूलाई सचेतनामूलक शिक्षा दिएर रोकथाम र नियन्त्रणमा सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

जनस्वास्थ्य र स्वास्थ्य सरोकारका सेवा सुविधामा वडावासीहरूको सहज पहुँच पु¥याउन स्वास्थ्य सङ्घ-संस्थाहरुसग सहकार्य गरेर वडा नगर स्तरमा कार्यक्रम सञ्चालन गर्ने तर्फ वडा कार्यालयको भावी नीति तथा योजना रहेको जानकारी वडा अध्यक्षहरूले जानकारी  दिनुभयो ।