१९९० साल माघ २ गते गएको भूकम्प र त्यसबाट भएको क्षतिलाई सम्झना गर्दै राष्ट्रियस्तरमा भूकम्प सुरक्षा दिवस मनाउदै आइरहेको कुरा सबैमा अवगतै छ । मिति २०८१ साल माघ २ गतेका दिन “भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने नारा सहित विभिन्न कार्यक्रमहरु गरि भूकम्प सुरक्षा दिवस मनाइदैछ । चाँगुनारायण नगरपालिकाले पनि सप्ताहव्यापी रुपमा भूकम्प सुरक्षा दिवस अन्तर्गत सबै वडाहरुमा भूकम्पीय सुरक्षाका बारेमा महिला समुह, आमा समुह, युवा समुह, ज्येष्ठ नागरिकहरुलाई अभिमुखिकरण तथा जनचेतानमूलक सन्देशहरु प्रसारण गर्ने कार्यक्रम तय गरेकोछ ।
नेपाल विपद्को जोखिम रहेका क्षेत्रमा अग्रणी स्थानमा रहेको कुरा सवैलाई विदितै छ । नेपालको सम्पूर्ण भूभाग भूकम्प जाने संभावित क्षेत्रभित्र पर्दछ भने मध्य भूभाग अर्थात् काठमाण्डौ उपत्यका कमजोर भूबनोट, जलवायु परिवर्तनले दोहोरीने घटनाहरु, प्राकृतिक श्रोतको विनाश, अव्यवस्थित वसोवास, तीब्र जनसंख्या बृद्धि, अब्यवस्थित संरचनात्मक बिकास (पूर्वाधारहरु), सम्भावित विपद्को सामना गर्ने क्षमताको कमि तथा जोखिम साथै प्रकोपको प्रभावको जनचेतनाको कमि जस्ता कारणहरुले अति जोखिम क्षेत्रभित्र पर्दछ । भूकम्पिय जोखिमका हिसाबले नेपाल विश्वका मूलुकमध्ये ११औं स्थानमा पर्दछ, जलउत्पन्न प्रकोपको जोखिमको हिसावले ३०औं स्थानमा, जलवायु परिवर्तनबाट उत्पन्न जोखिमका हिसाबले चौथो स्थानमा, समग्र विपद्बाट प्रभावित भइरहने देशहरुमा नेपाल विश्वको २० औं स्थानमा पर्दछ । (नेपाल सरकार, गृह मन्त्रालय) पछिल्लो सय वर्ष भित्र नेपालमा गएका ठुला भूकम्पहरुको कुरा गर्नुपर्दा वि.स १९९० सालको महाभूकम्प, वि.स २०४५ र वि.स २०७२ सालको भूकम्पलाई लिन सकिन्छ जसका कारण हाम्रो देशले ठुलो क्षति व्यहोर्नुपरेको थियो ।
२०७२ बैशाख १२ र २९ गतेको भूकम्प र त्यस पछिका पराकम्पनहरुबाट भएको जनधनको क्षति बाट पाठ सिकेर आगामी दिनमा आउन सक्ने विपद्का घटना र त्यसका प्रभाव तथा समूदायमा पर्ने असरलाई कम गर्नको लागी चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन इकाईको स्थापना गरि सरकारी र गैह्र सरकारी निकायहरु संग समन्वय, सहकार्य र साझेदारीमा विपद् पूर्वतयारीका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकोछ । चाँगुनारायण नगरपालिकाले मनसुनजन्य विपद्को अवस्थामा पनि तालिम प्राप्त स्वयंसेवक, नगर प्रहरी र कर्मचारीहरु परिचालन गरी तत्काल प्रतिकार्यका कार्यहरु गर्दै आएको सवैमा अवगतनै छ । २०८१ सालको मनसुनजन्य विपद्बाट क्षति भएका भौतिक संरचनाहरु पूर्ननिर्माणका लागि आर्थिक वर्षका नियमित योजनाको बजेटबाट १० प्रतिशत कटाएर विपद् व्यवस्थापन कोषमा राख्ने निर्णय नगरकार्यपालिकाले निर्णय गरिसकेको छ भने माघ महिनाबाटै पूननिर्माणका कार्यहरु अगाडी बढाउने तयारी नगरपालिकाले गरेकोछ ।
चाँगुनारायण नगरपालिकाकोे विपद् ब्यवस्थापन सम्बन्धि कानुनी तथा नीतिगत ब्यबस्था
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ (संसोधन २०८१)
विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि २०७५,
नगरस्तरीय आपत्कालीन कार्यसञ्चालन कार्यविधि २०७६,
वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन २०७७,
चाँगुनारायण नगरपालिका भुमि (भुउपयोग तथा भुमि व्यवस्थापन) ऐन, २०७७,
चाँगुनारायण नगरपालिका विपद्सम्बन्धी (५०÷५०) साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७८,
भवन इजाजत तथा घर नक्सापास कार्यविधि २०७५,
स्थानीय विपद् जलबायु उत्थानशील योजना २०७५ (संसोधन २०७८),
चाँगुनारायण नगरपालिकाको जोखिम संवेदनशील भू–उपयोग योजना २०७६,
नगर भित्र रहेका व्यवसायहरुको विपद् पश्चात् निरन्तरता योजना,
सामुदायिक होमस्टेहरुको घरपरिवार स्तरीय विपद् जोखिम व्यवस्थापन योजना,
चाँगुनारायण नगरपालिकाको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१,
चाँगुनरायण नगरपालिकाको विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना २०८०,
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० ।
साथै चाँगुनारायण नगरपालिकाको खुल्ला स्थान प्रयोग सम्बन्धि निर्देशिका २०८१ र चाँगुनारायण नगरपालिकाको राहत वितरण मापदण्ड २०८१ को मस्यौदा तयार भएको छ भने वडास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण र स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तयारीको शुरुवात गरिएकोछ ।
चाँगुनारायण नगरपालिकाको विपद् व्यस्थापन सम्बन्धि संगठनात्मक संरचना तथा गतिविधिहरु
चाँगुनारायण नगरपालिका तथा वडामा विपद् व्यवस्थापन समिति गठन ।
नगरस्तरीय आपत्कालिन कार्यसञ्चालन केन्द्र स्थापना र क्रियाशील ।
विपद् पोर्टलको सञ्चालन र अद्यावधिक ।
विपद् व्यबस्थापन कोषको लागि रु. ३ करोड सहित आर्थिक वर्ष २०८१÷०८२ को लागि विपद् व्यवस्थापनको लागि रु ६ करोड ३० लाख बजेट विनियोजन ।
आइसेट नेपाल र डिसिए नेपालको आर्थिक सहयोगमा नेक्सस परियोजना अन्तर्गत रु ४४ लाख रुपैयाको कार्यक्रम तथा गतिविधिहरु साझेदारीमा संचालन ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहयोगमा सुरक्षित विद्यालय सम्बन्धि परियोजना सञ्चालन ।
विपद्को प्रतिकार्यका लागि सामग्री सहित नगरप्रहरी सम्मिलित टोली तयारी ।
चाँगुनारायण नगरपालिकाको आर्थिक सहयोगमा जुद्ध बारुणयन्त्रले दमकल संचालन ।
नगरपालिकाको आफ्नै ३ वटा एम्बुलेन्स सञ्चालन ।
एम्बुलेन्स संचालन गर्ने संघसस्थाहरुलाई आर्थिक सहयोग ।
रेडक्रस मार्फत नगरबासी विरामीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था ।
नगरस्तरमा रहेको खुल्ला स्थान पहिचान र नक्सांकन, हेल्मेट डाँडामा आश्रयस्थल निर्माण उद्धार सामग्रीहरु भण्डारण ।
बन डढेलोका २३ जना अग्नी नियन्त्रक र विपद् व्यवस्थापन स्वयंसेवक (सामुदायिक खोज तथा उद्धार र प्राथमिक उपचारक) र विपद् व्यवस्थापन प्रशिक्षणका ८३ जना गरी १०६ जना जनशक्ति तयारी ।
डेँगी रोकथाम र नियन्त्रणका लागि नगरपालिका र वडास्तरमा द्रुत प्रतिकार्य टोली गठन ।
त्रैमासिक रुपमा चाँगुनारायण विपद् वुलेटिन प्रकाशन ।
नेपालको संविधानमा स्थानीय तहलाई विपद् व्यवस्थापनमा प्रमुख भूमिका प्रदान गरिएको छ । अतः विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यलाई चाँगुनारायण नगरपालिकाले प्राथमिकतामा राखी विपद् पूर्वतयारी अन्तर्गत नगरपालिकामा आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्दै स्थानीय विपद् व्यवस्थापन समिति गठन, ९ वटै वडाहरुमा वडास्तरीय स्थानीय विपद् ब्यवस्थापन समिति गठन, नगरपालिकास्तरिय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, समुदायमा प्रथम उद्धारकर्ता (प्राथमिक उपचार तथा खोज तथा उद्धारकर्ता स्वयंसेवक) तयारी, सबै वडाहरुमा खोज तथा उद्धारका सामग्री भण्डारण, सुरक्षित भवन निर्माण सम्बन्धि जनचेतना फैलाउने, पूर्वतयारी स्वरुप समुदायमै उद्धारकर्ता तयार गर्ने उद्धेश्यले विभिन्न प्रशिक्षणहरु संचालन गर्ने र आकस्मिक राहत कोष स्थापना गर्ने जस्ता कार्यहरु गरीरहेकोछ । स्थानीय सञ्चार माध्यम तथा सुचना प्रविधिको प्रयोग, त्रैमासिक रुपमा विपद् बुलेटिन प्रकाशन तथा विभिन्न दिवसहरुका अवसरमा समुदायमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरि आमजनसमुदायमा सचेतना अभिबृद्धि गर्ने कार्यहरु गरिएका छ । हामी माझ बलियो संरचना निर्माणका साथै सम्भावित विपद्को पूर्वतयारी गर्नुको विकल्प नभएकोले सबै समूदाय, सरकारी गैह्र सरकारी निकाय र सरोकालवाला निकायहरुको ध्यान त्यस तर्फ लाग्नु जरुरी छ ।
एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्ने कार्यको शुरुवात नगरपालिकाले अघिल्लो आर्थिक वर्षबाट शुरु गरिसकेकोछ । आइसेट नेपाल, डिसिए नेपाल, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल लगायत सरकारी र गैह्रसरकारी निकायहरुसंगको समन्वय, सहकार्य र साझेदारीमा नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकोछ ।
संघीय सरकार र प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा विभागहरुको निर्देशन अनुरुप जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्य र समन्वयमा विपद् व्यवस्थापन सम्बन्धि आवश्यक नीतिगत प्रवन्ध नगरपालिकाले गरिरहेकोछ भने विपद् व्यवस्थापनका लागि निजी र सार्वजनिक साझेदारीका कार्यक्रमहरु सञ्चालन गर्न पहलकदमीको शुरुवात गरिएकोछ । चाँगुनारायण नगरपालिकाले आफ्नो श्रोत साधनको उच्चतम प्रयोग गर्दै सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने कार्य तर्फ बार्षिक रुपमा योजना बनाई बजेट विनियोजन गरि कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गर्दै आएको छ । विपद् व्यवस्थापन विषयलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरी स्थानीय तहले गर्नुपर्ने र गर्न सक्ने अधिकतम कामहरुका लागि आफ्नो उपलब्ध साधन श्रोतहरु उच्चतम रुपमा प्रयोग गर्दै आएकाछौ । चाँगुनारायण नगरपालिकाले संघीय र प्रदेश सरकारहरु समक्ष विपद् पूर्वतयारी र प्रतिकार्यका लागि आवश्यक बजेटका लागि समन्वय, सहकार्य र अनुरोध पनि गर्दै आएकोछ ।
अन्त्यमा, चाँगुनारायण नगरपालिका भित्रका सरकारी निकायहरु, राजनैतिक दलहरु, नागरिक समाज, निजी क्षेत्र, उद्योगी, ब्यवसायी, गैह्र सरकारी क्षेत्रहरु, समुदायमा आधारित संघसंस्था तथा नगरबासीहरुसंगको सहकार्य र समन्वयमा विपद् पूर्वतयारीका कार्यहरु गर्दै समग्र नगरबासीहरुलाई भूकम्प लगायतका विपद्बाट सुरक्षित राखी सम्भावित क्षतिको न्यूनीकरणका लागि चाँगुनारायण नगरपालिका सदैव अग्रसर भइ कार्य गर्दै आएकोछ ।
जीवन खत्री
नगर प्रमुख एवं संयोजक
स्थानीय विपद् व्यवस्थापन समिति
चाँगुनारायण नगरपालिका