यातायात सञ्चालन गर्न दिने बिधि न्यायसम्मत भएनः डोलनाथ खनाल

480

काठमाडौं । काठमाडौं उपत्यकामा १६ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी सञ्चालन हुने गरी निषेधाज्ञा खुकुलो बनाइए पनि गाडी भने खासै चलेनन्
सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय पश्चात्को पहिलो दिन बिहीबार सडकमा थोरै मात्र सार्वजनिक यातायातका साधनहरू गुडेका हुन् ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सडकमा निजी सवारीको निकै बाक्लो उपस्थिति देखिए पनि सार्वजनिक यातायात भने कम देखिए ।

लामो समयसम्म ग्यारेजमा थन्किँदा अधिकांश गाडीहरू मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेकाले पनि सडकमा कम सवारी देखिएका हुन् । अधिकांश मजदुरहरू उपत्यका बाहिर भएकाले पनि आज कम गाडी चलेको व्यवसायीहरू बताउँछन् ।
अर्कोतर्फ १६ सिट भन्दा माथिका सार्वजनिक सवारी सञ्चालन हुन दिने निर्णय स्वागतयोग्य भएपनि माइक्रो र टेम्पु चल्ने वातावरण बनाउनु आवश्यक भएको यातायात व्यवसायीहरूको भनाई छ ।

यातायात टाइम्ससंगको कुराकानीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष एवं नेपाल गणतान्त्रिक यातायात व्यवसायिक मञ्चका केन्द्रीय अध्यक्ष डोलनाथ खनालले भने । “ उपत्यकामा यातायात सञ्चालनको विधि पटक्कै मिलेन । माइक्रो र टेम्पोलाई सरकारले समेट्न सकेन ।” अब यी सवारी साधन पनि सञ्चालन गर्ने वातावरण बन्नु पर्ने यातायात व्यवसायीहरू बताउँछन् ।
लामो दुरीका यातायात लामो समयदेखि थन्किरहेको अवस्थामा सुरक्षाका मापदण्ड अपनाएर अब सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीहरूको माग रहेको छ ।