भक्तपुर क्यान्सर अस्पतालमा स्वास्थ्य मन्त्रीबाट रिपोर्टिङ भेन्डिङ मेसिन थालनी

31

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पतालमा विश्व क्यान्सर दिवसको अवसरमा ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ को उद्घाटन गर्नुका साथै क्यान्सर बिजेताहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेलले उपचाररत क्यान्सर सरभाइभरहरूलाई सम्मान गर्दै लामो समयदेखि प्यालिएटिभ वार्डमा स्वयंसेवकको रूपमा सेवा प्रदान गरिरहेका शंकर प्रधानांग र दीपक ओलीलाई विशेष सम्मान गर्नुभयो। उहाँले भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा पु¥याउँदै आएको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै अस्पतालको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री पौडेलका अनुसार, स्वास्थ्य बीमा व्यवस्थित गरेमा मात्रै स्वास्थ्य क्षेत्रका समस्याहरू समाधान हुन सक्ने हुँदा बीमाको रकम रु १ लाखबाट बढाएर रु ५ लाख पुर्‍याउने तयारी भइरहेको छ। साथै, क्यान्सर उपचारमा प्रयोग हुने केमोथेरापी निःशुल्क प्रदान गर्न आवश्यक पहल भइरहेको जानकारी दिनुभयो।

देशभरका १७ लाख किशोरीलाई एचपीभी खोप उपलब्ध गराउने उद्देश्यले सरकारद्वारा ८,२०० खोप केन्द्रहरूमा १० देखि १४ वर्षसम्मका किशोरीहरूका लागि खोप अभियान सञ्चालन गरिएको मन्त्री पौडेलले जानकारी दिनुभयो। मन्त्री पौडेलका अनुसार, पाठेघरको मुखको क्यान्सर रोकथामका लागि यो अभियान महत्वपूर्ण छ।

उहाँले अस्पतालहरू उपकरणयुक्त हुनुपर्नेमा जोड दिँदै फार्मेसीहरूमा सम्पूर्ण आवश्यक औषधी सहज उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनुभयो। साथै, स्वास्थ्यकर्मीहरूले बिरामीहरूसँग प्रेमपूर्वक व्यवहार गर्दा उनीहरूलाई मनोवैज्ञानिक रूपमा राहत मिल्ने उल्लेख गर्नुभयो।

भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। उज्ज्वल चालिसेले नेपालमा वार्षिक करिब २२ हजार व्यक्तिलाई क्यान्सर हुने र १४ हजार जनाको मृत्यु हुने तथ्यांक प्रस्तुत गर्दै समयमा पहिचान र उचित उपचार गरेमा क्यान्सरलाई निर्मूल पार्न सकिने बताउनुभयो।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले एचपीभी खोप अभियानबारे विस्तृत जानकारी दिनुभयो। अस्पताल विकास समितिका अध्यक्ष दिपेन्द्ररमण सिंहले सीमित स्रोतका बाबजुद भक्तपुर क्यान्सर अस्पतालले उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो।

क्यान्सर सर्भाइभरहरू रेनुका सुवेदी, गीता बराल, अमृत गुरुङलगायतले आफ्ना संघर्षका अनुभवहरू बाँड्दै समयमै रोग पत्ता लगाउनुको महत्त्वबारे जानकारी दिनुभयो।

कार्यक्रमले क्यान्सर विरुद्धको जनचेतनामा उल्लेखनीय योगदान पु¥याउने सरोकारवालाहरुले बताएका छन् । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति लगाएतका महानुभावहरुको उपस्थिती रहेको थियो ।