भक्तपुर । नेपाल रेडक्रस सोसाइटी ताथली उपशाखाको सभापतिमा घनश्याम खड्का सर्वसम्मत चुनिएका छन् ।
उपशाखाको १७ औं साधारणसभा तथा पाँचौं अधिवेशनले खड्का पुनः सभापतिमा सर्वसम्मत भएका हुन् । शनिबार सम्पन्न अधिवेशनले उपशाखाको उपसभापतिमा चण्डिका छुकां, सचिवमा अच्युत केसी,कोषाध्यक्षमा विकासदेव ढुंगाना सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।
उपशाखाको नयाँ कार्यसमितिको उपसचिवमा श्रीकृष्ण केसी, उपकोषाध्यक्षमा राजकुमार बस्नेत महिला सदस्यमा कविता थापा र खुला सदस्यहरुमा यज्ञविक्रम थापा सुरेन्द्र ढुंगाना, दिवाकर थापा र रामेश्वर बासी चुनिएका छन् ।
नयाँ कार्यसमिति चयनअघि भएको अधिवेशनको उद्घाटन चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले गरेका थिए । सो क्रममा उनले मानवीय सहयोगको पर्याय बनेको रेडक्रस अभियानलाई वडाले पनि सहयोग गर्ने बताए । उनले ताथलीमा रेडक्रस स्थापनाको समयमा उत्साहजनक तरिकाले सक्रिय रहे पनि हाल उत्साहप्रद रुपमा सक्रिय नभएको जनाए । त्यसका लागि रेडक्रसकर्मीहरुले रेडक्रसको सिद्धान्तअनुसार गतिविधि बढाउन उनले सुझाव दिए ।
सोही कार्यक्रममा नेरेसो भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले रेडक्रसले विपद व्यवस्थापनका साथै विपद्को पूर्वतयारीका लागि काम गरिरहेको जनाए । उनले भक्तपुर रेडक्रस उत्कृष्ट रहेको उल्लेख गर्दै रक्तदान अभियानलाई थप सार्थक बनाउन उपशाखाहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेरेसो ताथलीका संस्थापक उद्धव ढुंगाना, स्थानीय ईश्वर खड्काले रेडक्रस विशुद्ध मानवीय सेवामा समर्पित संस्था भएकाले उक्त छवि कायम गराउने काम रेडक्रसकर्मीहरुको भएको बताए ।