ऐतिहासिक बन्यो एघारौं कागेश्वरी मनोहरा पर्यटन महोत्सव

16

काठमाडौँ । काागेश्वरी मनोहरा नगरपालिकाले एघारौं कागेश्वरी मनोहरा पर्यटन महोत्सव भव्यरुपमा सम्पन्न भएको छ । स्थानीय उत्पादनको प्रर्दशनी र साँस्कृतिक झाँकीसहितको विभिन्न आकर्षक कार्यक्रम गर्दै कागेश्वरी मनोहरा नगरपालिकाको पर्यटन महोत्सव भव्यरुपमा सम्पन्न भएको हो । प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस दिन नगरपालिकाले महोत्सव गर्दै आएको छ ।
महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा ंमहोत्सव भव्यरुपमा सम्पन्न भएको हो ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ का वडाध्यक्ष मुकुन्दप्रसाद गजुरेलको संयोजनमा भएको महोत्सवमा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, विशिष्ट अतिथि संविधान सभा सदस्य तथा कागेश्वरी मनोहरा पर्यटन महोत्सव तथा विशेष सांस्कृतिक कार्यक्रमका परिकल्पनाकार रामेश्वर फुयाल, नेकपा (माओवादी केन्द्र ) का महेश्वर फुयाललगायत विशिष्ट व्यक्ति र स्थानीय समाजसेवीहरुको सहभागिता रहेको वडा नं. १ का वडाध्यक्ष मकुुन्दप्रसाद गजुरेलले जानकारी दिनुुभयो ।
महोत्सवमा विभिन्न स्थानीय उत्पादनहरुलाई प्राथमिकता स्वरुप स्टलहरुमा बिक्रीवितरण गर्न राखिएको थियो । स्थानीय सहकारी संस्थाले सञ्चालन गरेको दुग्ध डेरीले अतिथिहरुलाई स्थानीय उत्पादन मोहि र खुवा खुवाएको थियो । उक्त महोत्सव स्थलमा बालबालिकालाई मनोरञ्जनको लागि विभिन्न खेलहरुपनि समावेश गरिएको थियो ।
स्थानीय कलाकारहरुले गीत संगीत सुनाएर शुरु गरिएको संस्कृति कार्यक्रममा राष्ट्रिय कलाकार मनोज गजुरेल मौलिक र यथार्थता प्रदर्शन प्रस्तुत गरेको हाँस्यव्यङ्ग्यले माहोल तताएको थियो । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि, चिनियाँ राष्ट्रपति सि जिङ पिङको, नेपालका बहालवाला प्रधानमन्त्री केपि ओली, नेपालका पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको जीवन्त अभिनय क्यारिकेचर गरेर दर्शकलाई मनोरञ्जन गराएका थिए ।
त्यस्तै लोकगायक तथा कलाकार राजु परियार, पुष्कर सुनुवार, कमला थापा, सुमिना लो, मणिराज काफ्ले, रामचन्द्र अधिकारी लगायत दर्जनौं कलाकारहरुले उत्कृष्ट प्रस्तुतिद्वारा महोत्सवमा रङ्ग भरेका थिए भने स्थानीय विद्यालयका बालबालिकाहरुले नृत्य, स्काउटरहरुले स्काउट गीतमा आफ्नो कला र पिरामिड कला प्रस्तुत गरेका थिए। तेक्वान्दो खेलाडीहरुले पनि मनोरञ्जन गराएका कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै संयोजक गजुरेलले कागेश्वरी मनोहरा नगरलाई पर्यटकिय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको स्पष्ट पार्नुभयो । उहाँले बूढानीलकण्ठ देखि तारेभिर कागेश्वरी मनोहरा हुँदै चिसापानीसम्मको पदमार्गलाई पूर्वाधार सम्पन्न बनाउन प्रमुख अतिथि संस्कृति पपर्यटन तथा नागरिक उड्यन मन्त्री पाण्डेसँंग जोडदाररुपमा माग समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले कागेश्वरी मनोहरा नगर क्षेत्र पर्यटकीय हिसाबले उत्कृष्ट रहेको बताउँदै स्ुथानीय सरकारले आवश्यक पूर्वाधार निर्माण गरि यसलाई उदेश्य पुरा गर्नुपर्नेमा जोड दिनुुभयो । महोत्सवमा स्थानीय नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
महोत्सवमा सहभागिता जनाउने सहभागी स्थानीय संघसंस्था तथा स्वयंसेवक व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गर्दै नगरप्रमुख उपेन्द्र कार्की र रामेश्वर फुयालले धन्यवाद ज्ञापन गर्नुभयो । कागेश्वरी मनोहरा नगर क्षेत्रका सम्पूर्ण बासिन्दाको हितमा कार्य गर्ने आफ्नो मनसाय लिएरनै नगरको जिम्मेवारी सम्हालेको बताउँदै नगर प्रमुख कार्कीले कागेश्वरी मनोहरा नगर क्षेत्र र सहिद पार्कलाई पूर्वाधार विकास गरि पर्यटकीय गन्तव्यको रूपमा स्थापित गराउने प्रतिबद्धता जनाइएको थियो ।