काठमाडौँ । अबदेखि भौतिक रूपमा उपस्थित नभइ कम्पनी दर्ता, खारेज गर्न पाइने भएको छ । सोमबारदेखि कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइन माध्यमबाट कम्पनी दर्ता तथा खारेज गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।
यस प्रणालीबाट कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदनहरू प्रणालीबाटै स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहबाट नै टुङ्गो लगाइने व्यवस्था मिलाइएको जनाइएको छ । उक्त प्रणालीले सम्बन्धित शेयरधनी, सञ्चालक वा निवेदक पक्षको सनाखत लगायत भौतिक उपस्थितिबाट चेकजाँच गर्न आवश्यक पर्ने प्रकृतिका आवेदनहरू बाहेक अन्य सबै आवेदनहरू अनलाइन प्रणालीबाटै टुङ्गो लगाइ सो सम्बन्धी पत्र, विवरण लगायत कागजातहरू डिजिटल हस्ताक्षर गरी सम्बन्धित कम्पनीको अनलाइन अकाउन्टमा स्वचालित रूपमा पठाइ कम्पनी प्रशासनको कार्यलाई थप सहज र सरल बनाउने छ ।