५१ वर्षमा पनि नेमकिपाले नयाँ अध्यक्ष पाएन,अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत

198
भक्तपुर । नेपाल मजदुर किसान पार्टीले आफ्नो स्थापना कालको ५१ वर्षमा पनि नयाँ अध्यक्ष पाउन सकेन ।
नेपालीमा एउटा उखान रहेको छ १२ छोरा १३ नाति बुढाको धोक्रो काँधै माथि भने जस्तो नेमकिपाले आफ्नो स्थापना कालको ५१ वर्षमा पनि नयाँ अध्यक्ष पाउन सकेन ।
एक अलग पहिचान बनाई आएको नेपाल मजदुर किसान पार्टीमा नेतृत्व गर्न सक्ने कोही फेला नपरेपछि आठौँ महाधिवेशनबाट पनि नारायणमान विजुक्छें रोहित नै अध्यक्षमा आउनुभएको छ ।
चार दिन सम्म चल्ने भनिएको अधिवेशन अध्यक्षले नयाँ नेतृत्वलाई छोड्ने इच्छाका कारण एक दिन ढिला सम्म लम्बिएको एक नेताले बताए पनि उहाँको विकल्प कोही फेला नपरेपछि अध्यक्षमा विजुक्छें नै निरन्तरता हुनु भएको हो ।
वि। सं। २०३१ साल माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकाल देखी बिजेक्छें सर्वसम्मत अध्यक्ष रहँदै आउनुभएको छ । उमेर ८५ वर्ष पुग्नुभएका बिजुक्छेले २०७४ को आम निर्वाचनमा संसदीय राजनीतिबाट विश्राम लिनुभएको थियो । उहाँले जित्दै आउनुभएको भक्तपुर क्षेत्र नं। १ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो ।
महाधिवेशनले नेमकिपाको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति सर्वसम्मत चयन गरेको छ । यसै गरी केन्द्रीय सदस्यहरूमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाई सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै रबिन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सृजना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही पनि केन्द्रीय सदस्य चयन हुनुभएको छ ।
महाधिवेशनले मन्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरुङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ ।महाधिवेशनले सात प्रदेशमा सात जना संयोजकहरू तोकेको छ । कोसी प्रदेशमा उकेश कवां, मधेशमा सुनिल प्रजापति, बागमतीमा प्रेम सुवाल, गण्डकीमा डिल्लीप्रसाद काफ्ले, लुम्बिनीमा हरिसुन्दर बासी, कर्णालीमा सरोजराज गोसाई र सुदूरपश्चिममा नवराज कोइराला संयोजक तोकिएका छन् । महाधिवेशनमा ५० जिल्लाहरूबाट करिब तीन सय ५० प्रतिनिधि पर्यवेक्षकहरू सहभागी भएको बताइएको छ ।
नेमकिपाको पहिलो महाधिवेशन २०४७ पौष २८,२९ र ३० गते रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो । त्यसपछि दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२, १४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६, ७ र ८ काठमाण्डौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१, २२, २३ र २४ काठमाण्डौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३, ४ र ५ भक्तपुरमा भएको थियो ।