भक्तपुर। नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुरथिमि नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखा को आयोजनामा विद्यालय लक्षित विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मध्यपुरथिमि नगरपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयमा सञ्चालन गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष बाबुकाजी डंगोल प्रमुख अतिथि रहनुभएको थियो भने म.थि.न.पा. वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखा प्रमुख गणेश देवी प्रजापति विशेष अतिथि रहनुभएको थियो।
कार्यक्रममा प्रशिक्षक ऋषि खड्का र संगिता थापाले विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षाका विविध पक्षहरूबारे जानकारी प्रदान गर्नुभएको थियो। अभिमुखीकरणमा सहभागी विद्यार्थीहरूलाई आपत्कालीन परिस्थितिमा अपनाउनुपर्ने सावधानी, प्राथमिक उपचार, सडक दुर्घटना न्यूनीकरण उपायहरू, र विपद् व्यवस्थापन रणनीति सम्बन्धी प्रशिक्षण दिइयो।
विद्यालयस्तरमा विपद् व्यवस्थापन र सडक सुरक्षाबारे सचेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा विद्यार्थीहरूले व्यवहारिक सिकाइका साथै विपद् सामना गर्नुपर्ने पूर्वतयारीबारे ज्ञान हासिल गरेका छन्।
आयोजक संस्थाहरूले अन्य विद्यालयहरूमा पनि यस्ता अभिमुखीकरण कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना रहेको भक्तपुर रेडक्रसका मन्त्री धर्मराज कार्कीले जानकारी दिनुभयो ।