नगरकोट भ्रमण वर्ष २०८२ तथा १०८ फिट कल्पेश्वर महादेव मूर्ति निर्माणका लागि शिव पुराण तयारी तीव्र

35

भक्तपुर – चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ मनाउने तयारी तीव्र रुपमा भइरहेको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं. ८, ९, र बनेपा नगरपालिका वडा नं. १ को संगमस्थल कल्पेश्वर धाम क्षेत्रमा निर्माणाधीन १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति पूर्ण रूपमा सम्पन्न गर्न विभिन्न कार्यक्रम अगाडि बढाइएका छन्।

उक्त क्षेत्र चाँगुनारायण नगरपालिकाको उत्तर-पूर्वी भागमा अवस्थित एक ऐतिहासिक तथा धार्मिक स्थल हो। यहाँ निर्माणाधीन महादेव मूर्तिसँगै अन्य धार्मिक संरचनाहरू छन्, जसमा –नाग कुण्ड, गोसाइ कुण्ड, २७ धारा,नारायण कुण्ड रहनेछन् ।

यो क्षेत्रबाट काठमाडौं उपत्यका, नाल, बनेपा, र धुलिखेलसम्मको सुन्दर दृश्यका साथमा विभिन्न हिमालका साथमा सगरमाथाको अवलोकन गर्न सकिन्छ।

शिव पुराण महोत्सवको तयारी

१०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न गर्न आर्थिक संकलन तथा धार्मिक महत्व उजागर गर्ने उद्देश्यले  शिव पुराण महोत्सव २०८२ वैशाख २ गतेदेखि १३ गतेसम्म आयोजना गर्ने निर्णय गरिएको आयोजकले जानकारी दिएका छन् ।

शिव पुराण महोत्सवका संयोजक तथा समिति गठन

शिव पुराण कार्यक्रमको संयोजकको जिम्मेवारी चाँगुनारायण नगरपालिका वडा नं. ८ का अध्यक्ष श्री जनक खत्रीलाई दिइएको छ।
३३ सदस्यीय मूल समारोह समिति गठन गरिनुका साथै विभिन्न उपसमितिहरूसमेत गठन गरिएका छन्।
नगरपालिका, स्थानीय समुदाय, तथा सरकारी निकायहरूको सहकार्यमा महादेव मूर्ति निर्माण कार्यलाई तीव्रता दिने लक्ष्य राखिएको छ।

कल्पेश्वर धामको धार्मिक महत्व

परापूर्वकालदेखि नै यस क्षेत्रमा धार्मिक शक्ति रहेको विश्वास गरिन्छ। जनश्रुति अनुसार, सुडालको ठूली ब्रह्मायणी मन्दिरबाट राति सेतो रङको बाघ कल्पेश्वर महादेव हुँदै गणेश ढुंगा सम्म ओहोरदोहोर गर्ने गर्थ्यो। साथै, तान्त्रिक गुरु बुद्धिकुमार खड्गीले यस स्थललाई धार्मिक दृष्टिले विशेष शक्ति सम्पन्न क्षेत्रको रूपमा उल्लेख गरेका छन्।

नगरकोट भ्रमण वर्ष २०८२ सँग धार्मिक पर्यटनको प्रवर्द्धन

नगरकोट भ्रमण वर्ष २०८२ को अवसर पारेर, कल्पेश्वर धाम क्षेत्रलाई धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्न चाँगुनारायण नगरपालिकाले विशेष योजनाहरू अघि सारेको छ।

शिव पुराण महोत्सवले धार्मिक तथा सांस्कृतिक जागरण ल्याउने विश्वास गरिएको छ।
धार्मिक संरचनाहरूको विकासले भक्तपुर जिल्लालाई थप धार्मिक पर्यटन गन्तव्यका रूपमा परिचित गराउनेछ।
स्थानीय अर्थतन्त्र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

चाँगुनारायण नगरपालिका र स्थानीय समुदायको सक्रिय सहकार्यमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न गर्ने योजनाअन्तर्गत शिव पुराण महोत्सव २०८२ वैशाख २-१३ सम्म सञ्चालन गरिने छ। यस ऐतिहासिक तथा धार्मिक महत्वको परियोजनाले नगरकोट भ्रमण वर्ष २०८२ लाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई सफल बनाउन विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने योजना तयार गरिएको जानकारी गराउनुभयो । मेयर खत्रीले भ्रमण वर्षभरिनै मनाइने भएकाले ९ वटै वडामा हुने कार्यक्रम टुंगो लगाइसकिएको र भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

महायज्ञ संयोजक जनक खत्रीले १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागेको जानकारी गराउनुभयो । ।महायज्ञ तयारी मूल समारोह समितिका सचिव बद्रीप्रसाद नेपाल, प्रवक्ता यादवप्रसाद अधिकारी, व्यास गुरुहरू रामचन्द्र तिमल्सिना, हरिचन्द्र तिमल्सिना लगायतले महायज्ञका विविध पक्षहरूबारे चर्चा गर्नुभएको थियो ।