भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) चाँगुनारायण नगर समितिद्वारा प्याब्सनिष्टलाई सम्मान गरेको छ । प्याब्सन चाँगुनारायण नगर समितिले हालै सम्पन्न प्याब्सनका विभिन्न तहमा विजयी प्याब्सनिष्टहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
नगर समितिले चाँगुनारायणको तखाछें क्याफेमा ‘बधाई तथा शुभकामना’ कार्यक्रम आयोजना गरी ३७ जना प्याब्सनिष्टहरुलाई एकैपटक सम्मान गरेको हो । उनीहरुलाई वागमती प्रदेश सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, चाँगुनारायण नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमाललगायतले सम्मान गर्दै उत्कृष्ट शैक्षिक उपलब्धिका लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा वागमती प्रदेश सदस्य सुरेश श्रेष्ठले विद्यालय शिक्षाका लागि प्याब्सन र निजी विद्यालयको योगदान उदाहरणीय रहेको बताए । उनले प्याब्सनले गरेको शैक्षिक अभ्यास सामुदायिक विद्यालयहरुको लागि मार्गनिर्देश सावित भइरहेको जनाउँदै केही निजी विद्यालयको मनपरीका कारण सिंगो निजी विद्यालयहरु बद्नाम हुनु विडम्वना भएको उल्लेख गरे ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले शिक्षालाई व्यापार र व्यवसायभन्दा पनि सामाजिक कर्म र सेवासँग जोड्नुपर्ने बताए । उनले नेपालको शिक्षाको स्तर उकास्नका लागि निजी विद्यालयहरुको स्थापनाले ठूला भूमिका निर्वाह गरेको जनाउँदै नगरपालिकाले सम्पन्न गर्न लागेको नगरकोट भ्रमण वर्षलाई सफल बनाउन सकारात्मक भूमिका निर्वाह गर्न अनुरोध गरे ।

प्याब्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले स्थानीय तहहरुको गलत बुझाई र नीतिका कारण कयौं पालिकाहरुमा निजी विद्यालयहरुले दुःख पाइरहेको उल्लेख गर्दै चाँगुनारायणले शिक्षा सुधारका लागि गरिरहेको प्रयासको प्रशंसा गरे । उनले निजी विद्यालयलाई स्थानीय तहले हेर्न दृष्टिकोण र गर्ने व्यवहार नकारात्मक बनाउन नहुनेमा समेत जोड दिए । उनले शिक्षा सुधारका लागि प्याब्सन र चाँगुनारायण नगरपालिकाबीच सहकार्य जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालले नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा तात्विक भिन्नता नगरेको उल्लेख गर्दै विद्यालयको विकासका लागि नगरपालिका सकारात्मक भएको बताए । उनले भौतिक पूर्वाधारमात्र नभई मानवीय विकासका लागि पनि नगरपालिका लागिरहको जनाए । वरिष्ठ सल्लाहकार एवम् प्याब्सन भक्तपुरका पूर्व अध्यक्ष श्रीकृष्ण केसीले चाँगुनारायण नगरपालिकाले गर्न लागेको नगरकोट भ्रमण वर्ष २०८२ को प्रचारप्रसारका साथै भ्रमण वर्ष सफल बनाउने उद्देश्यका साथ प्याब्सनको चारै तहमा सम्पन्न अधिवेशनबाट निर्वाचित प्याब्सनिष्टहरूको सम्मानमा उक्त कार्यक्रम गरिएको बताए । सम्मानित हुनेहरूलाई टीका, खादा, नगरकोट भ्रमण वर्षको लोगो र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत दिपक बिष्टले गरेका थिए । नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल बनाउने हेतु उक्त कार्यक्रम गरिएको आयोजक समितिका अध्यक्ष टंक सिटौला तथा सचिव राम निरौलाले बताए ।