काठमाडौं । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्।
उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईको परिवारले पनि पुष्टि गरेको छ। तर, परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफै आसाम प्रहरीको सम्पर्कमा पुगेको बताए। प्रसाईसँगै भागेका उनका सहयोगीहरू भने आफै नेपाल फर्कँदै छन्।
प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो। उनी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए।
तर, हिजो बुधबार मात्र उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए
चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो। व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।