सुडालका विद्यार्थी बस चढेर अन्यत्र जान नपराेस्

23

भक्तपुर । भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद प्रेम सुवालले सुडालका विद्यार्थी बस चढेर अन्यत्र जान नपर्ने स्थिति सिर्जना गर्नुपर्ने बताएका छन् । त्यसका लागि उनले चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालकाे पञ्चकन्या माध्यमिक विद्यालयलाई उत्कृष्ट बनाउनुपर्ने बताए ।

सुडालकाे दुलाल गाउँस्थित पञ्चकन्या माध्यमिक विद्यालयकाे उनान्चालिसाैं वार्षिकोत्सबका अवसरमा आयाेजित कार्यक्रममा उनले विद्यालयलाई राम्रो बनाउन सबै पक्षकाृ सक्रियता जरुरी रहेकाे चर्चा गर्दै उत्कृष्ट शैक्षिक केन्द्रले ठाउँकाे परिचय फेरिने र स्थानीयले समेत सुविधा पाउने उल्लेख गरे ।

उनले भने, `पञचकन्या मावि अब युवाबाट वयस्क हुँदै गइरहेको छ । यसैले याे स्कुललाई सबै मिलेर उत्कृष्ट बनाउँ । यसलाई राम्रो बनाएर सुडालका विद्यार्थी बस चढेर अन्यत्र जानुपर्ने अवस्थाकाे अन्त्य गर्न जरुरी छ ।´ कार्यक्रममा उनले कुनै क्षेत्र विशेषकाे मात्र विकास नभई सबैतिर सन्तुलित विकास हुनुपर्ने चर्चा गर्दै आफ्नो निर्वाचन क्षेत्र छाेडेर अन्यत्र बसाइँ सर्नेहरूलाई दाेहाेर्याएर निर्वाचनमा टिकट दिन नहुने जनाए ।

विद्यालयबाट एसईई २०८० मा सहभागी भई उत्तीर्णहरूलाई सम्मान समेत गरेका उनले शिक्षाले अन्धविश्वासकाे अन्त्य गर्नुपर्ने बताए । उनले भाषा अनुसारको प्रदेश विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए । शिक्षकले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै विद्यार्थीकाे प्रतिभा उजागर गर्ने वातावरण शिक्षकले बनाउनुपर्नेमा जाेड दिएका सांसद सुवालले सरकारमा जाने दल,नेता र कार्यकर्ता इमानदार भए देशले दु: ख नपाउने बताए । पछिल्लो समयमा अमेरिकी राष्ट्र रपति डाेनाल्ड ट्रम्पकाे अभिव्यक्तसँगै विश्वका अन्य देशले दु: ख पाउने स्थिति सिर्जना हुने खतरा बढ्दै गएकाे चर्चा गर्दै उनले ट्रम्पकाे गलत नीतिले विश्वमा आर्थिक सङ्कट बढ्ने जनाए । कार्यक्रममा वागमती प्रदेशकी प्रदेश सभा सदस्य गीता काफ्लेले विद्यालयले समय सुहाउँदो शिक्षा दिने, श्रमसँग जाेड्ने शिक्षा दिनुपर्नेमा जाेड दिइन् ।

उनले समाजमा पूँजीवादी प्रवृत्ति बढ्दै गएकाेमा चिन्ता जनाउँदै हालकाे शिक्षा नीतिले सामुदायिक विद्यालयलाई फूल्न र फक्रिन नदिएको बताइन् । उनले शिक्षामा समेत भ्रष्टाचार हुँदै गइरहेको जनाउँदै शिक्षामा व्याप्त भ्रष्टाचार नै नि: शुल्क शिक्षाको बाधक रहेकाे चर्चा गरिन् । अभिभावक- शिक्षक संघकी अध्यक्ष चन्द्रकला दुलालले विद्यालयमा अभिभावककाे उपस्थिति न्यून हुँदै गएकोमा चिन्ता जनाइन् ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता जनक खत्रीले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए । नगर प्रवक्ता खत्रीले चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल शैक्षिक हब बन्दै गईरहेकाे उल्लेख गरे । साे पहिचान बनाउनका लागि सुडालका विद्यालय र साे विद्यालयमा कार्यरत शिक्षक, अभिभावक तथा विव्यस पदाधिकारीहरूकाे भूमिका महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईकी प्रमुख कमला ज्ञवालीले उपस्थित सबैलाई याेग गराएकी थिइन् । उनले शिक्षासँग सीप, संस्कार जाेड्न अनुरोध गरिन् । उनले हप्ताको एक दिन बुक फ्री गरी विभिन्न सिपमूलक गतिविधिमा जाेड्न अनुरोध गरिन् । इकाई प्रमुख ज्ञवालीले विद्यालयलाई उद्यमकाे केन्द्र बनाउन र त्यसका लागि स्थानीय पालिकाले लगानी बढाउन अनुराेध गरिन् ।

कार्यक्रममा विद्यार्थी रञ्जना दुलाल र सुदिना दुलालले आफ्नो अनुभव सुनाएकी थिइन् । चाँगुनारायण नगरपालिका शिक्षा शाखाका दिनेश अर्यालले विद्यालय निर्माणका लागि सबै पक्षको भूमिका उल्लेखनीय हुने चर्चा गर्दै नमूना विद्यालयकाे यात्रातर्फ अघि बढ्न शुभकामना दिए । संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष चक्रबहादुर चाकतुले गुणस्तरीय शिक्षाका लागि परीक्षा समिति गठन गरेकाे उल्लेख गर्दै परीक्षा समितिले गर्दै आएका गतिविधिबारे जानकारी दिए । उनले शिक्षकको सीप विकासका लागि परीक्षा समिति लागिरहेको बताए । उनले सरकारले अभिभावकले पनि बालबालिकाको मूल्यांकन गर्ने गरि तयारी गरिरहेकाेले बालबालिकाकाे क्रियाकलापमाथि निगरानी गर्न अनुराेध गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण दुलालले विद्यालयकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई अब्बल बनाउने भावी नीति र कार्यक्रम प्रस्तुत गरेका थिए । क्याडेटमा आवद्ध विद्यार्थीहरूकाे प्रस्तुति, कक्षागत सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन भएकाे कार्यक्रममा सहभागी अतिथि, अभिभावक तथा स्थानीयले विशेष चाखपूर्वक अवलोकन गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तराम दुलालकाे सभापतित्वमा भएकाे थियाे ।