चाँगुनारायण–८ मा जेष्ठ नागरिकसम्बन्धी कचहरी नाटक प्रदर्शन

19

भक्तपुर – जेष्ठ नागरिकका सरोकारका विषयमा जनचेतना फैलाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र चाँगुनारायण नगरपालिकाको साझेदारीमा, स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित ‘स्वास्थ्य बुढ्यौलीका लागि सहारा’ परियोजना अन्तर्गत आज वडा नं. ८ मा कचहरी नाटक प्रदर्शन गरिएको छ।

उक्त नाटक नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका स्वयंसेवकहरूद्वारा तयार पारिएको र प्रस्तुत गरिएको हो। नाटकमार्फत बुढ्यौलीमा देखिने स्वास्थ्य समस्या, पारिवारिक उपेक्षा, सामाजिक भावनात्मक पक्ष र राज्यको दायित्व जस्ता विषयवस्तुमा सशक्त सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका अग्रज नागरिक, महिला समूह, युवा क्लब र स्वास्थ्यकर्मीहरूको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले नाटकले जेष्ठ नागरिकप्रति समाजमा बढ्दो उदासीनता र बेवास्ता हटाउन सहयोग पुर्‍याउने विश्वास लिइएको रेडक्रस भक्तपुरका मन्त्री धर्मराज कार्कीले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्रीका अनुसार, यस किसिमका सामुदायिक–सञ्चारमूलक गतिविधिहरूले जेष्ठ नागरिकप्रतिको संवेदनशीलता बढाउने र समाजमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।