नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति

12

काठमाडौँ। नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच शिक्षकमाथि उठेका विभिन्न मागहरू समाधान गर्न ९ बुँदे सहमति भएको छ। सहमतिपत्रमा शिक्षामन्त्री रघुजी पन्त र महासंघका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्।

मन्त्रिपरिषदबाट निर्णय स्वीकृत भएसँगै सहमति कार्यान्वयनमा आएको छ। शिक्षा मन्त्रालयले यसअघि गरिएको सातबुँदे सहमतिलाई आधार मानेर थप बुँदाहरू समेट्दै विस्तृत सहमति गरेको हो।

सहमतिको प्रमुख बुँदाहरू यस्ता छन्:

१. स्वास्थ्य उपचारमा सहुलियत: सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

२. बिरामी बिदा सञ्चयको व्यवस्था: राहत, अस्थायी, साबिक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा तथा बाल विकास सहजकर्ताहरूको बिरामी बिदा सञ्चित हुने र सेवा अवकाशका क्रममा एकमुष्ट भुक्तानी प्रदान गरिनेछ।

३. पारिश्रमिक निर्धारण: प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारद्वारा तोकिएको दरमा व्यवस्था गरिनेछ।

४. ग्रेड तथा रकम: आगामी आर्थिक वर्ष २०८२/८३ देखि स्थायी शिक्षकहरू (प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय, माध्यमिक प्रथम श्रेणी) का लागि निजामती सरह ग्रेड संख्या र रकम लागू गरिनेछ।

५. दुर्गम भत्ता: स्थायी तथा अस्थायी प्रकृतिका सबै शिक्षकहरूले प्रचलित कानुनअनुसार दुर्गम भत्ता प्राप्त गर्नेछन्।

६. सामाजिक सुरक्षा कोषमा समावेशीकरण: सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा आवश्यक व्यवस्था गरिनेछ।

७. मर्यादाक्रममा समावेश: शिक्षकहरूलाई नेपाल सरकारको मर्यादाक्रम सूचीमा समावेश गरिनेछ।

८. निःशुल्क उपचार: आन्दोलनको क्रममा घाइते भएका शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिनेछ।

९. तलब तथा ग्रेड समानता: निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेडलाई माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह बनाइनेछ।