लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

3

रुपन्देही । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश सभा सचिवालयका अनुसार पहिलो बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ।

बैठकको सम्भावित कार्यसूचीअनुसार प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ। त्यसपछि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले अधिवेशन प्रारम्भको अवसरमा शुभकामना मन्तव्य राख्नेछन्।

यस अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ, किनभने प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र आगामी बजेट यही अधिवेशनमार्फत प्रस्तुत गर्ने तयारी गरिरहेको छ। सरकार जेठ ४ गते नीति तथा कार्यक्रम ल्याउने तयारीमा छ।

यस अधिवेशनमा विकास योजना, बजेट निर्माण प्रक्रिया तथा अन्य महत्त्वपूर्ण विधेयकहरूमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। प्रदेशको आर्थिक दिशा निर्धारण गर्ने रणनीतिक दस्तावेजहरू प्रस्तुत र छलफल हुने भएकाले यो अधिवेशन राजनीतिक र नीतिगत दृष्टिकोणले निकै निर्णायक हुने विश्लेषण गरिएको छ।