हुम्ला,
हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलो र एक जना कालाजारका बिरामी फेला परेका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले नियमित रोग अनुगमन तथा परीक्षणको क्रममा तल्लो क्षेत्र ताँजाकोटमा ती बिरामीहरू भेटिएको जानकारी दिएको हो।
कार्यालयका कीटजन्य रोगसम्बन्धी स्वास्थ्यकर्मी रवीन्द्र देवकोटाका अनुसार औलोका बिरामीमध्ये एक जना वडा नं. २ मा बाहिरबाट आएका (आयातित) हुन् भने अर्को वडा नं. ५ मा स्थानीय लामखुट्टेको टोकाइबाट संक्रमित भएका हुन्। कालाजारका बिरामी वडा नं. २ मै भेटिएका छन्।
तीन जना बिरामी फेला परेपछि सोमबार बसेको ताँजाकोट गाउँपालिकाको बैठकले जेठ ७ गते बुधवारदेखि वडा नं. २, ३, ४ र वडा नं. ५ को सात्ती डोप्का क्षेत्रमा औलो तथा कालाजार नियन्त्रणका लागि विषादी छर्ने निर्णय गरेको छ।
कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा समेत औलोको जोखिम बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। तापक्रम वृद्धिसँगै लामखुट्टेको विस्तार र यातायात सञ्जालको विकासका कारण यसअघि औलोमुक्त मानिने हुम्ला जिल्लामा समेत संक्रमण देखिन थालेको हो।
चालु आर्थिक वर्षमा कर्णाली प्रदेशभर ३८ जना औलोका बिरामी पहिचान भएका छन्। तीमध्ये २९ जना सुर्खेत, ४ जना दैलेख, ३ जना कालीकोट र २ जना हुम्लामा रहेका छन्। ३७ जना बिरामी बाहिरबाट संक्रमण बोकेर आएका (आयातित) हुन् भने १ जना स्थानीय संक्रमण हो।
औलोका बिरामी फेला परेका अन्य स्थानहरूमा हुम्लाको ताँजाकोट गाउँपालिकासहित दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सुर्खेतको वीरेन्द्रनगर, गुर्भाकोट, लेकबेँसी, पञ्चपुरी, सिम्ता लगायतका पालिकाहरू रहेका छन्।
प्रदेशभरका ७९ स्थानीय तहका ७१८ वडामध्ये:
-
३ वटा वडा उच्च जोखिममा छन् (हुम्लाको ताँजाकोट गाउँपालिका–२, ३, ४)
-
७ वटा वडा मध्यम जोखिममा
-
४१० वटा वडा न्यून जोखिममा
-
२९८ वटा वडा जोखिममुक्त रहेका छन्।
औलो तथा कालाजारजस्ता कीटजन्य रोगहरू कर्णालीका दुर्गम र हिमाली जिल्लामा समेत फैलिन थालेकाले स्थानीय तह, स्वास्थ्य कार्यालय र प्रदेश सरकारबीच समन्वयात्मक प्रयास जरुरी देखिएको छ। सर्वसाधारणलाई लामखुट्टेको टोकाइबाट जोगिन सतर्क रहन र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।