कोहलपुर, बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीन जनालाई रंगेहात पक्राउ गरेको छ।
आयोगका अनुसार मालपोत कार्यालयमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले जग्गाको मोठ भिडाउने प्रक्रिया सहज बनाइदिने भन्दै लेखापढी व्यवसायी (विचौलिया)मार्फत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेका थिए। यही अभियोगमा उनलाई कोहलपुर नगरपालिका–११ स्थित तिवारी रेस्टुरेन्टबाट घुससहित पक्राउ गरिएको हो।
पक्राउ गर्ने क्रममा उक्त रकम रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिइएको अवस्थामा भेटिएको आयोगले जनाएको छ। घटनामा संलग्न लेखापढी व्यवसायी शान्ति पुन र रेस्टुरेन्ट सञ्चालक तिवारी समेत पक्राउ परेका छन्।
तीनै जनामाथि नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभएको छ।