शुभकामना साकोसको रजत वर्ष समापन समारोह भव्य रूपमा सम्पन्न

10


सांसद थापाद्वारा सहकारीको सेवा प्रशंसनीय भन्दै आगामी सफलताको शुभकामना

भक्तपुर — शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भक्तपुरको रजत वर्ष (२०८१/०८२) का अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन समारोह सम्पन्न भयो।

समारोहको प्रमुख आतिथ्य संघीय सांसद दुर्लभ थापा रहनुभयो। उहाँले शुभकामना साकोसले आफ्ना शेयरसदस्यहरूलाई उपलब्ध गराउँदै आएको सेवा अन्य सहकारी संस्थाहरूको तुलनामा उदाहरणीय रहेको बताउनुभयो। सांसद थापाले सहकारीले सरकारी नीति तथा कानुनअनुसार सेवा प्रवाह गर्दै आएको र आगामी दिनमा पनि घरेलु, व्यवसायिक र शैक्षिक हितमा योगदान पुर्‍याउन सफल होस् भनी शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ ले सहकारीले रजत वर्षको अवसरमा सामाजिक र शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए।

नेपाल बचत तथा ऋण सहकारी संघ का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल ले शुभकामना साकोसले शेयरसदस्यहरूमाझ सामाजिक, शैक्षिक र व्यवसायिक विश्वसनीयता कायम गर्न सफल भएको उल्लेख गर्दै यस संस्थाले अन्य सहकारीहरूका लागि प्रेरणाको स्रोत बनेको बताए।

अध्यक्ष ढकालले हालका दिनमा देखिएका सहकारी क्षेत्रका चुनौतीबारे चर्चा गर्दै भक्तपुरमा सहकारी शिक्षा र सचेतनाको राम्रो अभ्यास देखिएको उल्लेख गर्नुभयो। उहाँले जिल्ला बचत संघको अभिभावकीय भूमिकाले भक्तपुरमा तुलनात्मक रूपमा समस्या न्यून भएको जानकारी पनि दिनुभयो।

संस्थाका अध्यक्ष रामप्रसाद कासुला ले रजत वर्षमा आयोजित सबै कार्यक्रमहरूमा सक्रिय सहभागी भई साथ र समर्थन दिने संचालक, पदाधिकारी, कर्मचारी र शेयरसदस्यहरूप्रति आभार प्रकट गर्दै सहकारीले सधैं सहकारी ऐनभित्र रहेर गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुवबहादुर रायमाझी, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजू, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुबराज विष्ट, र प्रोस्कुन बागमतीका महासचिव गोविन्द काफ्ले लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

समारोहको स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष एवं रजत वर्ष व्यवस्थापन उपसमितिकी संयोजक निर्मला सुवालले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको अवसरमा रजत वर्ष स्मारिका विमोचन गरिएको थियो। साथै, रजत वर्षमा आयोजित विभिन्न गतिविधिहरू अन्तर्गत: बाँसुरी तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण, ब्याडमिन्टन प्रतियोगिताका विजयीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान, निबन्ध प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान, दश जना असल ऋणीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

शुभकामना साकोसको रजत वर्ष समापन समारोहले सहकारी क्षेत्रको सामाजिक, शैक्षिक र व्यवसायिक योगदानलाई उजागर गर्दै भविष्यप्रति आशावादी सन्देश दिएको सहभागीहरूको धारणा थियो।