काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य दिपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध धनुषा जिल्लाको औरही गाउँपालिका वडा नं. २ मा १५ शैय्याको अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आर्थिक वर्ष २०७७/०७८ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रमअनुसार स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत देउरी परवाहामा २४ करोड ४३ लाख ५२ हजार ६५० रुपैयाँ लागत अनुमान सहित अस्पताल निर्माणका लागि मिति २०७८ वैशाख १७ गते बोलपत्र आह्वान गरिएको थियो।
तर, बोलपत्र पेश गर्ने म्याद जेठ २३ गतेसम्म सात दिन थपिएकोमा, प्रतिवादीहरूको मिलेमतोमा थप म्याद जेठ ३१ गतेसम्म आठ दिन फेरि बढाइएको थियो।
अख्तियारका अनुसार १५ मध्ये १३ बोलपत्रदाताको प्राविधिक मूल्याङ्कन असफल पारिएको छ भने डि एण्ड एन जेभी र समानन्तर/बबुल जेभीले म्याद थपको अन्तिम दिन, जेठ ३० गते मात्र बोलपत्र पेस गरेको पाइएपछि अनियमितता उजागर भएको हो।
मुद्दामा तत्कालीन औरही गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव, उपाध्यक्ष मीरा देवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुर, वडा अध्यक्षहरू अमित कुमार यादव (वडा २), आशेव्र यादव (वडा १), गंगा प्रसाद यादव (वडा ३), शिवनाथ साह (वडा ४), प्रमेश्वर कुमार मण्डल (वडा ५), दिलिपकुमार साह (वडा ६), साथै निर्माणमा संलग्न इन्जिनियर, खरिदार र अन्य कर्मचारीहरू समावेश छन्।
कुल ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
साथै, लुम्बिनी क्षेत्रका डि. एण्ड एन. जेभी र डि. एण्ड एन. बिल्डर्स प्रा. लि. का तत्कालीन प्रबन्ध निर्देशक र हालका सांसद दिपेन्द्रकुमार ठाकुर तथा विष्णुप्रसाद शर्मा विरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको दुरुपयोग र भ्रष्टाचारविरुद्ध कडाइका साथ अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ।