भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकामा पुग्न आफ्नै छुट्टै मार्ग निर्माण गर्ने आफ्नो दीर्घकालीन लक्ष्य पुरा हुने अवस्थामा पुगेको बताउनु भएको छ। उहाँहरुले चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट मोडदेखि खस्याङ–खुसुङ खोलासम्म कोरिडोर निर्माणका लागि संघीय र प्रदेश सरकारसँग निरन्तर पहल गर्दै आउनु भएको थियो।
माननिय सुरेश श्रेष्ठले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेट गरी सो कोरिडोरका लागि संघीय सरकारबाट बजेट सुनिश्चित गर्न माग भएको थियो। साथै बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पनि योजना अघि बढाउन सफल हुनुभएको छ। यसै क्रममा प्रदेश सरकारले प्रारम्भिक चरणका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। भने सहरी विकास मन्त्रालय मार्फत घट्टेखोला खस्याङ खुसुङ सडक स्तरोन्ननत कार्य शिर्षकमा ३ करोड रुपैया विनियोजन भएको छ ।
उक्त रकमलाई बहुवर्षीय योजना अनुरूप क्रमशः बढाउँदै आगामी ३ वर्षभित्र कोरिडोर निर्माण सम्पन्न गर्ने लक्ष्य सांसद श्रेष्ठले सार्वजनिक रूपमै व्यक्त गर्नुभएको छ। यो कोरिडोर बनेपछि चाँगुनारायण नगरपालिकातर्फ आवागमन थप सहज र व्यवस्थित हुने विश्वास गरिएको छ।
स्थानीय बासिन्दाहरूले समेत यस मार्ग निर्माणले नगरपालिकाको भौतिक पूर्वाधार विकास र आर्थिक गतिविधि सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेका छन्।