एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि

4

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नजिता सार्वजनिक गरेसँगै पूरक परीक्षा दिने मिति पनि सार्वजनिक गरेको हो ।

पूरक परीक्षा अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले  दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

यद्यपि यो पूरक परीक्षा त्यस्ता परीक्षार्थीले पाउँदैनन् जसको परीक्षा रद्ध भएको थियो । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् ।

आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसईई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपीएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना र २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।

त्यसैगरी २.४ जीपीएदेखि २.८ जीपीएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जीपीए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।

१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । एक लाख ६७ हजार ५९७ विद्यार्थी अवर्गीकृत भएका छन् ।