एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी: बाल वैज्ञानिकहरूको सिर्जनशील क्षमताले सबलाई चकित

12

भक्तपुर। “विज्ञान पढेर होइन, गरेर सिकिन्छ” भन्ने प्रेरणादायी नाराका साथ एभरेस्ट स्कुलले विज्ञान तथा प्रविधिमा रुचि राख्ने बालबालिकाहरूका लागि सृजनात्मक विज्ञान प्रदर्शनीको आयोजना गर्‍यो। विज्ञान क्षेत्रको अग्रणी संस्था न्यात-पोलको सहकार्यमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा रहेको अनुसन्धान क्षमताको उत्कृष्ट प्रदर्शन गर्यो।

कक्षा २, ३ र ८ का विद्यार्थीहरूले आ–आफ्ना सिर्जनात्मक विचारलाई नवीन आविष्कारका रूपमा प्रस्तुत गरे। उनीहरूले बनाएका उपकरण, प्रयोगात्मक मोडेल, र प्रविधिमूलक सामग्रीहरूले प्रदर्शनी अवलोकनमा आएका अभिभावक, शिक्षक र अतिथिहरूको मन जित्यो।

साना कक्षाका नानीहरूले बनाएका हातले चलाउने मेसिन, रिसाइक्लिङ मोडल, र वातावरणीय सन्देश बोकेका चित्रहरूले प्रदर्शनीलाई आकर्षक बनायो। बालमैत्री सोच र सिर्जनामा आधारित यस्ता प्रयासले उनीहरूमा प्रारम्भिक वैज्ञानिक सोच विकास गरिरहेको देखिएको थियो।

उच्च कक्षाका विद्यार्थीहरूले सोलार सिस्टमको यथार्थ चित्रण, जल शुद्धीकरण प्रक्रिया, ऊर्जा रूपान्तरणसेन्सर प्रविधिमा आधारित मोडलहरू प्रस्तुत गरे। यस्ता अवधारणात्मक र प्रविधि-केन्द्रित प्रोजेक्टहरूले विद्यार्थीहरूको प्रयोगात्मक क्षमता, विश्लेषणशक्ति र प्रस्तुतीकरण शैली स्पष्ट झल्कायो।

प्रदर्शनीको अर्को विशेष पक्ष अभिभावकहरूको उत्साही सहभागिता रह्यो। विद्यार्थीहरू आफैंले तयार पारेका सामग्री हेरेर प्रश्न सोध्दा उनीहरूको उत्तर दिने शैलीले आत्मविश्वास, प्रस्तुतिशक्ति र विषयमा पकड देखिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले भने, “विज्ञान र प्रविधि विकास विना समृद्ध राष्ट्रको कल्पना गर्न सकिँदैन। यस्ता कार्यक्रमले अनुसन्धान र नवप्रवर्तनप्रतिको रुचि बढाउँछ, यिनै प्रयोगशालाबाट भविष्यका वैज्ञानिकहरू जन्मिन्छन्।”

एभरेस्ट स्कुलको यस विज्ञान प्रदर्शनीले केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नभई व्यावहारिक, अनुसन्धानमुखी र विद्यार्थी-केंद्रित शिक्षाको अभ्यासलाई उजागर गर्‍यो। सहभागी, दर्शक, अभिभावक र अतिथिहरू सबैले कार्यक्रमप्रति प्रशंसा व्यक्त गर्दै यस्ता प्रयासहरू निरन्तर जारी रहनुपर्नेमा जोड दिएका थिए।