फोटो पत्रकार वर्षा साहले गत भदौ २४ गतेको जेनजी प्रदर्शनका दौरान आफूले खिचेका तस्बिरहरू सामाजिक सञ्जालमा बिहीबार पोस्ट गरिन् । भदौ २४ का दिन साहको क्यामराले जलिरहेको सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, स्वास्थ्य मन्त्रालयदेखि विजयोत्सव मनाइरहेका प्रदर्शनकारीसम्मलाई कैद गरेको छ । तर साहले पोस्ट गरेका २ दर्जन तस्बिरमध्येको एक तस्बिर भने निकै फरक खालको छ ।

त्यस फोटोमा एक जना प्रदर्शनकारीले दायाँ हातमा एक बोतल बोकिरहेका देखिन्छन् । त्यस बोतललाई झट्ट हेर्दा बियर वा ससको बोतल जस्तो देखिन्छ । भदौ २४ गते काठमाडौँसँगै देशका विभिन्न भागमा आगजनी, तोडफोडसँगै लुटपाट मच्चिएको थियो । त्यसैले त्यसैबेला कुनै स्टोरबाट बियर वा ससको सो बोतल प्रदर्शनकारीले चोरेर बोकेको अनुमान लगाउन सकिन्छ । तर बोतलको बिर्कोतर्फको भागमा राखिएको कपडा वा डोरी जस्तो देखिने बस्तुले भने त्यो बोतल बियर वा सस रहेको सङ्केत गर्दैन । बरु त्यसले सो बोतल मोलोटोभ ककटेल रहेको सङ्केत गर्छ ।
मोलोटोभ ककटेल भनेको एक प्रकारको ‘इन्केन्डियरी डिभाइस’ (ज्वाला उत्पन्न गर्ने साधन) हो । एक परम्परागत घरेलु हतियार हो । यसलाई पेट्रोल बम, बोतल बम वा फायर बोतल पनि भनिन्छ । घरेलु स्तरमै बनाउन सकिने भएकाले धेरैले मोलोटोभ ककटेललाई ‘गरिबको ग्रिनेड’ समेत भन्ने गरेका छन् । प्रायः यसमा बोतलको भित्र पेट्रोल, मट्टितेल जस्तो ज्वाला उत्पन्न गर्न सक्ने तरल पदार्थ राखिन्छ र बोतलको मुखमा आगो लाउन सक्ने कपडा वा डोरी राखिन्छ । सलाईको काँटीले त्यस डोरी बालेपछि जब यसलाई निश्चित दूरीमा हानिन्छ तब बोतल फुटेर आगो फैलिन्छ र यसको आगोले लक्षित क्षेत्रलाई जलाउन सक्छ।

विश्वका विभिन्न युद्ध तथा सरकार विरोधी आन्दोलनहरूमा मोलोटोभ ककटेलको प्रयोग हुने गरेको छ ।
५ वर्षअघि अमेरिकाको वासिङ्टनको क्यापिटल हिल घटनामा मोलोटोभ ककटेलको प्रयोग भएको पाइएपछि यसबारे संसारभर चासो उत्पन्न भएको थियो । अमेरिकी कङ्ग्रेसले इलेक्टोरल कलेजको बारेमा बहस गरिरहेका र बहसपछि राष्ट्रपतिमा जो बाइडेन विजयी भएको औपचारिक पुष्टि हुन बाँकी रहेको बेला तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू संसद् भवनमा प्रवेश गरेका थिए। उनीहरूले प्रहरीमाथि मोलोटोभ ककटेल हानेका थिए ।

३ वर्षअघि रुसले आक्रमण गरेपछि युक्रेनी सरकारले आम मानिसलाई रुसका विरुद्ध लड्न मोलोटोभ ककटेल बनाउन आफ्ना जनताई अपिल नै गरेको थियो । त्यसपछि युक्रेनका वृद्धवृद्धाहरुले आफ्ना सन्तानहरूलाई मोलोटोभ ककटेल बनाउन सिकाइरहेको र सिक्नेमा महिलाहरूको सङ्ख्या उल्लेख्य रहेको विवरण बाहिरिएको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय कानुन तथा थुप्रै देशहरूले मोलोटोभ ककटेलको प्रयोगलाई गैर कानुनी मानेका छन् । तर त्यसका बाबजुद थुप्रै देशमा हिंसात्मक प्रदर्शनहरूमा प्रदर्शनकारीहरूका तर्फबाट मोलोटोभ ककटेल प्रहार भएका छन् ।
नेपालमा समेत मोलोटोभ ककटेल प्रतिबन्धित छ । नेपालमा यसको प्रयोग पूर्ण रूपमा गैर कानुनी छ । तर जेनजीको आन्दोलनको दोस्रो दिन भएको विध्वंसमा मोलोटोभ ककटेल प्रयोगको सङ्केत भेटिएको हो । पूर्व डिआइजी हेमन्त मल्ल ठुला भवनहरू सामान्य पेट्रोलले मात्र केही घण्टामै खरानी बन्न नसक्ने बताउँछन् । परीक्षणले मात्र यकिन हुने भए पनि भदौ २४ गते भएका आगजनीमा कुनै न कुनै प्रकारको केमिकल प्रयोग भएको मल्लको आशङ्का छ । “त्यस दिन जसरी केही घण्टामै सिंहदरबार र अदालत खरानी बने, त्यो सामान्य पेट्रोल मात्र त्यसरी जल्न सम्भव नै हुँदैन, कुनै न कुनै प्रकारको केमिकल त्यस दिन प्रयोग भएको हुनुपर्छ, ” मल्लले भने ।
अहिले सामाजिक सञ्जालमै हेरेर धेरै कुरा सिक्न सकिने भएकाले नेपालमा प्रतिबन्धित बस्तुहरू समेत बन्न र प्रयोग हुन थालेको मल्लको ठहर छ । मल्लले भने, “त्यस दिन मोलोटोभ ककटेल प्रयोग भए नभएको त परीक्षणपछि मात्र यकिन हुन्छ, तर अहिले सामाजिक सञ्जालबाटै सबै कुरा हेरेर सिक्न सकिने भएकाले भदौ २४ मा घातक किसिमका केमिकल प्रयोग भएका छैनन् भनेर मान्न सकिँदैन ।”
सन् २०१६ को एक घटनाले मल्लको यस भनाइलाई पुष्टि गर्छ । सन् २०१६ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सिन्धुपाल्चोकको चौतारामा रहेको ‘सेभ द चिल्ड्रेन’को कार्यालयमा बम आक्रमण गरेको थियो । त्यस आक्रमणमा मोलोटोभ ककटेल प्रयोग गरिएको पाइएको थियो । उसो त माओवादीको सशस्त्र विद्रोहमा समेत मोलोटोभ ककटेलको फाट्टफुट्ट प्रयोग भएको सुरक्षा अधिकारीहरू बताउँछन् । यसले अवैध मोलोटोभ ककटेलको प्रयोग बेलाबेलामा हुने गरेको देखिन्छ । तर युद्धका बेला विद्रोही समूहले हतियारका रूपमा प्रयोग गर्ने केमिकल र जेनजी युवाहरूले गर्ने सडक प्रदर्शनमा हुने केमिकलको प्रयोगलाई दाँज्न मिल्दैन । गएको भदौ २४ को जेनजी प्रदर्शनमा मोलोटोभ ककटेलको प्रयोग प्रमाणित भएको ठहर भएको खण्डमा त्यो सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील रहेको मल्लको भनाई छ ।
काठमाडौँ प्रहरी परिसरले भदौ २४ गते मोलोटोभ ककटेल वा अन्य कुनै केमिकल प्रयोग भए/नभएको बारे अनुसन्धान भइरहेको जनाएको छ । परिसरका निमित्त प्रमुख पवन भटराईले भने, “हामीलाई पनि त्यस दिन कुनै प्रज्वलनशील केमिकल भएको बारे आशङ्का छ, त्यसबारे हामी अनुसन्धान गरिरहेका छौँ, थप कुरा परीक्षणपछि आउला ।”हुलाल सञ्चारको सहयोगमा








































