चितवनको माछापालन व्यवसाय अनुदान रकम आधा पनि खर्च भएन

1481

चितवन ।  चितवन जिल्ला माछापालनका लागि उत्कृष्ट स्थान रहेको भए पनि लक्ष्यमा पुग्न मुश्किल देखिएको छ ।  जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार विभिन्न परियोजनाबाट यस वर्ष १२० हेक्टर जलाशय क्षेत्र विस्तारका लागि आएको अनुदानको आधा रकम पनि खर्च नहुने स्थिति देखिएको हो ।
चितवनमा माछा व्यवसाय प्रवद्र्धनका लागि कृषक अनुदानमा तीन करोड ७० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो तर हालसम्मको प्रगति हेर्दा विनियोजन गरिएको रकमको आधा पनि खर्च हुन नसक्ने अनुमान गरिएको छ ।
चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत माडी र पश्चिम चितवनलाई मस्त्य पोकेट क्षेत्र घोषणा गरी ९५ हेक्टर जलाशय क्षेत्रका लागि प्रतिहेक्टर तीन लाख रुपियाँका दरले बजेट विनियोजन गरिएको थियो ।  असार पहिलो सातासम्ममा ७३ जना कृषकहरूसँग लगभग ३० हेक्टर जलाशयका लागि सम्झौता हुन सकेको उहाँले बताउनुभयो ।  त्यसैगरी मत्स्य उत्पादन विशेष कार्यक्रमअन्तर्गत २० बिघाका लागि आएको ६० लाख रुपियाँ अनुदानमा हालसम्म १४ लाख रुपियाँका लागि मात्र सम्झौता भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार प्रतिहेक्टर पाँच लाख रुपियाँ अनुदान दिने गरी पाँच हेक्टर जलाशय निर्माण गर्ने प्रक्षेपण गरिएकोमा माछा भूरा नर्सरीको लागि हालसम्म तीन हेक्टरका लागि मात्र सम्झौता भएको छ ।
सरकारले चितवन जिल्लालाई तरकारी, माछा र धानका लागि पकेट क्षेत्र गरेको छ ।  जिल्ला  कृषि विकास कार्यालय चितवनका अनुसार माछाका लागि सबैभन्दा बढी माडी नगरपालिका वडा नम्बर ७ गोपालनगरमा एकै ठाउँमा एक सय ५० हेक्टरभन्दा बढी जलाशय रहेका छन् भने जिल्लाको पश्चिम जगतपुर, शुक्रनगर, दिव्यनगर क्षेत्रलाई पनि माछा उत्पादनको हिसाबले महìवपूर्ण मानिएको छ ।  जिल्लाको पूर्वी क्षेत्रको भण्डारामा सरकारी लगानी रहेको माछाको भूरा उत्पादन केन्द्र र माछा पालन रहेको छ ।
चितवनमा दुई हजार दुई सय २३ माछा पोखरी छन् भने यी पोखरीको कुल क्षेत्रफल आठ सय ८० हेक्टर छ ।  एक हजार तीन सय जना व्यावसायिक कृषक संलग्न रहेको चितवनको माछा पालन क्षेत्रको आठ सय ८० हेक्टर जमिनमा पाँच सय ३९ हेक्टर जलाशय क्षेत्र रहेको छ ।  त्यसैगरी जिल्लामा ३० हेक्टरभन्दा बढी जलाशय रहेका १२ वटा घोल ताल समुदायले सञ्चालन गरी आयआर्जन कार्यक्रमअन्तर्गत माछा पालन गरिएका छन् ।
कृषि विकास कार्यालयको तथ्याङ्कमा गत वर्ष कुल दुई हजार तीन सय १३ दशमलव आठ मेट्रिक टन माछा उत्पादन भएको छ ।  चितवन जिल्लामा प्रतिहेक्टर उत्पादकत्व चार दशमलब दुई मेट्रिक टन रहेको छ ।  यो वर्ष उत्पादन १० देखि १५ प्रतिशतले वृद्धि हुने अनुमान छ ।