रोजीरोटीका लागि वैदेशिक रोजगारीमा चार वर्ष बिताएका इलामको एकतप्पाका दिनेश कोइराला अहिले गाउँ फर्केर कफी खेतीमा लागेका छन् ।
पैतृक सम्पतीका रुपमा गाउँमा रहेको ५० रोपनी जमिनमा कफी लगाएर त्यसकै स्याहार सुसारमा लागेका छन् उनी । दुई वर्षअघि लगाएको कफी फल्न थालिसकेको छ । उनी नयाँ ठाउँमा पनि खेतीको विस्तार गर्दैछन् । चार दाजुभाइकै जग्गामा कफी लगाएका उनलाई कफीको विरुवा बिक्रीबाट कमाइ लिंदै छन् । बर्षेनी पाँचदेखि सात हजार कफीको विरुवा बिक्री गरेर कमाइ गर्दैछन् । भुँईमा लगाएको विरुवा २० रुपैयाँ गोटा र पोलिथिनको विरुवा २५ रुपैयाँका दरले बिक्री हुने गरेको कोइरालाले बताए । कफीको विरुवा किन्न भीड लाग्ने गरेको छ । कतिले विरुवाका लागि अग्रिम भुक्तानी दिन्छन् । ‘यो वर्ष मात्रै ३० हजार भन्दा बढी विरुवाको माग छ’–उनले भने–‘विरुवा थोरै छ, नजिककालाई मात्रै दिन पुग्छ ।’ अर्को वर्षलाई विरुवा निकाल्न उनले नर्सरी राखिसकेका छन् ।
इलामको सूर्योदय नगरपालिकाको बरबोटेमा ‘फिक्कल टि एण्ड कफी कम्पनी’ ले ठूलो क्षेत्रमा कफी खेती लगाउँदैछ । यही वर्ष मात्रै बरबोटेमा तीन सय रोपनीमा कफीको खेती लगाइँदैछ । कफी खेती लगाउनका लागि बारी र विरुवा तयार भएको कम्पनीका काजी लामाले बताए । सोही कम्पनीमार्फत अरु सात सय रोपनीमा कफी खेतीको तयारी हुँदैछ । कफी खेतीका लागि योग्य जमिन किन्ने तयारीमा रहेको उनले बताएका छन् ।
कफीको बजार राम्रो भएकाले ठूलो क्षेत्रमा यसको खेती थालेको ‘फिक्कल टि एण्ड कफी कम्पनीका अध्यक्ष दिप लामा बताउँछन् । ‘कफीको बजार राम्रो छ’–उनले भने–‘विदेश लगेर बेच्नु पर्दैन, नेपालमा नै राम्रो बजार छ ।’ कफीका लागि प्रतिष्ठित हिमालयन जाभालेले उत्पादन लिने निश्चित छ । खेतीका लागि हिमालयन जाभाले पनि लगानी गरेको अध्यक्ष लामाले जानकारी दिए । कम्पनीले विरुवा उत्पादनका लागि नर्सरी बनाएको छ । कफी प्रशोधन प्लान्ट समेत स्थापना गरिने छ ।
यस्तै इलामको गोदकमा पनि ब्यावसायिक रुपमा कफी खेती थालिएको छ । कुम्भकर्ण एग्रिकल्चर फार्मले गोदकमा ३३ रोपनी जग्गामा कफी खेती लगाएको छ । सात जनाको लगानीमा १५ सय कफी खेती लगाईसकेको कम्पनीका भोजराज श्रेष्ठले जानकारी दिए । श्रेष्ठले इलाम सदरमुकाममा नै ग्रीन सिटी नर्सरी समेत स्थापना गरेका छन् । नर्सरीमा सात हजार कफीका विरुवा समेत तयार छन् । नर्सरीमा कफीसँगै अन्य फलफूल र बहुमूल्य प्रजातिका विरुवाहरु समेत छन् । कफीको विरुवाको माग बढेपछि अर्को बर्ष २५ हजार विरुवा निकाल्ने गरी नर्सरी राखेको छ । ‘अहिले विरुवाको हारालुछ छ, त्यसैले अर्को बर्ष धेरै विरुवा उत्पादन गर्छौ’–श्रेष्ठले भने–‘तीन लाख लगानी गरेर २५ हजार विरुवाका लागि ११ किलो दानाको नर्सरी राखेका छौं ।’
नामसालिङ्गका गञ्जु प्रधानले पनि हजार भन्दा बढी कफीको विरुवा रोपेका छन् । प्रधानले रोपेको विरुवा पनि फल्नयोग्य भईसकेका छन् । जिल्लाको नामसालिङ, धुसेनी, एकतप्पा, फिक्कललगायत क्षेत्रका किसानले पनि ब्यावसायिक रुपमा कफी खेती लगाउन थालेका छन् ।
पहाडी क्षेत्रमा उत्पादन हुने कफीको बजार राम्रो भएकाले पूर्वी पहाडी क्षेत्रमा कफीको ब्यावसायिक खेती थालिएको हो । नेपालमा चिया रोपणको उद्गम थलो मानिने इलाममा यसअघि ब्यावसायिक रुपमा कफी खेती भएको थिएन् । २० वर्षअघि इलामको केही ठाउँमा कफी लगाइए पनि उत्पादनले राम्रो भाऊ नपाउँदा यसको विस्तार हुन सकेको थिएन । विश्व बजारमा नेपाली कफीको माग बढेसँगै इलाम, पाँचथर, ताप्लेजुङ, तेह«थुममा ठूलो क्षेत्रमा कफी लगाइएको चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले बताए । ‘नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन भएको कफीको माग राम्रो छ’–अधिकारीले भने–‘पहाडी क्षेत्रमा उत्पादन भएको कफीको गुणस्तर राम्रो हुने भएका हो ।’ नेपालमा अरविगा जातको कफीे लगाइने गरिएको छ । समुन्द्री सतहको आठ सयदेखि १६ सयसम्म मिटरको उचाइमा कफी राम्रो उत्पादन हुन्छ । चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख अधिकारीका अनुसार नेपालमा पाँच सय मेट्रिक टन कफी उत्पादन हुन्छ भने विश्व बजारमा यहाँ सात हजार टन कफीको माग छ ।
नर्सरीबाट बगैंचामा लगाएको तीन वर्षपछि फल्न शुरु हुने कफीले रोपेको ५० वर्षसम्म उत्पादन दिन्छ । एउटा बोटमा बर्षेनी पाँच–सात किलोसम्म कफी फल्छ । अहिले प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्ममा कफीको दाना किनबेच हुने गरेको छ ।