हात्ती महोत्सव र पर्यटन : यातना कि संरक्षण ? विज्ञ भन्छन्—सामान्य गतिविधिले हात्तीलाई फाइदै

0

चितवन । पृथ्वीका सबैभन्दा ठूला स्थलचर जनावरमध्ये हात्ती प्रमुख हो । यही हात्तीको प्रमुख वासस्थान चितवन राष्ट्रिय निकुञ्ज र यसको आसपास क्षेत्र मानिन्छ । हात्तीका कारण नै चितवनको पर्यटन विकासमा सकारात्मक प्रभाव परेको पर्यटन व्यवसायी तथा विज्ञहरूको भनाइ छ ।

पश्चिम चितवनको मेघौली कहिल्यै अन्तर्राष्ट्रिय हात्तीपोलो खेलका कारण विश्वभर परिचित थियो । तर पशु अधिकारको विषय उठ्दै गएपछि करिब एक दशकअघि हात्तीपोलो खेल बन्द गरियो । हात्तीपोलो बन्द भएपछि मेघौलीमा पर्यटकीय गतिविधिमा उल्लेखनीय गिरावट आएको स्थानीय व्यवसायी बताउँछन् ।

हात्तीपोलो बन्द हुनुका साथै निकुञ्जभित्रको टाइगर टप्स सञ्चालनमा नआउनु र पर्यटक आगमन घट्दै जाँदा मेघौली विमानस्थलसमेत बन्द हुन पुगेको छ । एकपछि अर्को पर्यटकीय गतिविधि बन्द हुँदै जाँदा मेघौली क्षेत्रको पर्यटन चहलपहलमा ठूलो असर परेको पर्यटन विज्ञहरूको निष्कर्ष छ ।

मेघौलीमा हात्तीपोलो बन्द भएपछि सौराहामा भने हात्ती दौड, सुन्दरी प्रतियोगितालगायतका गतिविधि सञ्चालन हुँदै आएका छन् । तर हरेक वर्ष आयोजना हुने हात्ती महोत्सवप्रति पशु अधिकारकर्मीले ‘हात्तीलाई दौडाउनु र खेलाउनु यातना हो’ भन्दै विरोध जनाउँदै आएका छन् । यही पुस ११ गतेदेखि सुरु हुने हात्ती महोत्सवको पनि विरोध भइरहेको छ ।

तर हात्ती विज्ञ र पशु चिकित्सकहरू भने महोत्सवमा हुने सामान्य गतिविधिले हात्तीको स्वास्थ्यमा नकारात्मक असर नपर्ने स्पष्ट गर्छन् ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्व पशुविज्ञ डा. कमल गैरेका अनुसार हात्तीलाई लामो समय निष्क्रिय राख्दा स्वास्थ्य समस्या देखिन सक्छ ।
“हात्तीलाई सामान्य दौडमा सहभागी गराउनु, फुटबल खेलाउनु भनेको व्यायाम नै हो । यसले शरीरमा ऊर्जा थप्छ,” उहाँले भन्नुभयो, “यदि कुनै गतिविधिले स्वास्थ्यमा असर गर्ने हो भने त्यसको हामी आफैँ विरोध गर्छौँ । तर अहिले भइरहेका गतिविधि सामान्य छन् ।”

निकुञ्जमा तीन दशकभन्दा बढी समय हात्ती विज्ञका रूपमा काम गर्नुभएका डा. गैरेका अनुसार हात्ती दैनिक धेरै किलोमिटर हिँड्ने, भारी बोक्ने जनावर भएकाले सामान्य खेलकुद गतिविधिले उसलाई कुनै क्षति नपुर्‍याउने उहाँको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्व पशु चिकित्सक तथा हात्ती विज्ञ डा. विजयकुमार श्रेष्ठले पनि हात्ती महोत्सवमा हुने गतिविधि सामान्य भएको बताउनुभयो ।
“एउटा हात्तीले तीन–चार जना मानिस बोकेर गस्ती गर्छ, धेरै किलोमिटर हिँड्छ । फुटबल खेलाउनु वा सामान्य दौडाउनु यातना होइन,” उहाँले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले ठूला शरीर भएका जनावर भएकाले हात्तीलाई सामान्य गतिविधिमा सहभागी गराउँदा असर नपर्ने बताउनुभयो ।
“यदि विवाद छ भने अध्ययन टोली बनाएर यथार्थ तथ्य बाहिर ल्याउनुपर्छ,” उहाँले भन्नुभयो, “हाल महोत्सवमा सरकारी हात्ती प्रयोग गरिएका छैनन् । निजी हात्ती प्रयोग हुने गतिविधिमा पनि स्वास्थ्यमा प्रतिकूल असर देखिएको छैन ।”

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख तथा हात्ती विज्ञ डा. अशोक रामका अनुसार नेपालमा हात्तीलाई यातना दिने किसिमका गतिविधि छैनन् ।
“हात्तीसम्बन्धी खेल र गतिविधि जनावरमैत्री छन् । अधिकारको कुरा उठाउँदा पहिला तथ्यगत अध्ययन गर्नुपर्छ,” उहाँले सुझाव दिनुभयो ।

पर्यटन विज्ञ प्राध्यापक डा. विश्व सुवेदीले मेघौलीमा हात्तीपोलो बन्द भएपछि पर्यटनमा अतुलनीय क्षति पुगेको बताउनुभयो ।
“यहाँको पहिचान नै हात्ती हो । हात्ती संरक्षण गर्दै त्यससँग सम्बन्धित गतिविधि प्रदर्शन गरेर पर्यटन विकास गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले पशु अधिकारकर्मीको विरोधपछि कार्यक्रमलाई परिमार्जन गर्दै हात्ती प्रदर्शनमा सीमित गरिएको जानकारी दिनुभयो ।
“सुन्दरी प्रतियोगिता, भोज र सामान्य फुटबलजस्ता कार्यक्रम मात्रै राखेका छौँ । हात्तीलाई कुनै पीडा नदिँदा पनि विरोध हुनु चिन्ताजनक छ,” उहाँले भन्नुभयो ।

क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार हात्ती महोत्सवलाई परिष्कृत गर्दै हात्तीमैत्री गतिविधि मात्र समावेश गरिएको छ ।
“सौराहा र चितवनको पर्यटन पहिचान नै हात्ती हो । हात्ती संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्नु अहिलेको आवश्यकता हो,” उहाँले बताउनुभयो ।

सौराहाको बाघमारा चौरमा यही पुस ११ गतेदेखि हात्ती महोत्सव आयोजना हुँदैछ ।