महिला हिंसा विषयक अभिमुखीकरण

893

भक्तपुर । महिला सल्लाहकार प्रतिष्ठान भक्तपुरले महिलामाथि हुने विभिन्न किसिमका हिंसाविषयमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
महिलामाथि घर, समाज तथा विभिन्न स्थानमा हुने गरेका हिंसा विरुद्ध लड्न सहयोग पुर्याउनका लागि सो कार्यक्रम गरिएको आयोजक प्रतिष्ठाननका अध्यक्ष एवं महिला नेतृ सरस्वती   विभिन्न बाटीले बताइन् ।
महिलामाथि भएका थुप्रै प्रकारका हिंसा समाजबाट बाहिर आउन सकेका छैनन्, त्यसकारण महिलाहरु पीडित भैरहेका छन् । उनले भनिन्, त्यसले समाज अघि बढ्नमा बाधक बनेको छ ।
सोही बाधकलाई हटाउन सहयोग पुर्याउनका लागि अभिमुखीकरण गरिएको उनको भनाइ छ ।
कार्यक्रममा महिला सल्लाहकार प्रतिष्ठानका प्रमुख संरक्षक राधिका शाक्य ओलीको उपस्थिति रहेको थियो । सो कार्यक्रममा संरक्षक शाक्यले महिलाहरु मानसिक, सामाजिक र यौन हिंसाको सिकारमा परेको बताउँदै पछिल्लो समयमा  भने राजनीतिक रुपमा पनि हिंसामा परिरहेको बताए ।
महिलाहरुले पनि पुरुषहरुले सरह काम गर्न सक्ने भएकोले महिलाहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने, महिला शसक्तिकरण गर्ने कार्यलाई अघि बढाउनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा महिला हिंसाविरुद्ध अभियन्ता सम्झना शाक्य, बन्दना भण्डारीले महिलाहरुको अवस्थाबारेमा जानकारी दिँदै महिला हिंसाकै कारण विकृति र विसंगति देखिएको उल्लेख गरिन् । अभियन्ता शाक्य र भण्डारीले महिलाकै कारण महिलाहरु प्रताडित हुने गरेको परिवेशमा महिलाहरु नै सजग नभए अझ हिंसा बढ्नेतर्फ संकेत गर्दै महिलाहरु पीडित हुनु समाज पछि पर्ने लक्षण भएको सुनाए ।
समाजमा विद्यमान महिला हिंसा न्यनीरकण र निराकरणका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा उनीहरुले जोड दिए । सोही अवसरमा अधिवक्ता प्रचण्ड प्रधानले महिलाहरुका कानूनी हक, अधिकारको विषयमा बोलेका थिए । महिलाहरु लक्षित विभिन्न अन्धविश्वासलाई चिर्न आवश्यक रहेको अधिवक्ता प्रधानको माग थियो ।
कार्यक्रममा आयोजक प्रतिष्ठानका अध्यक्ष बाटी र एमाले भक्तपुरका नेता मदन महर्जनले पनि महिलालाई अघि बढाउने उपायअन्तर्गत सीपमूलक कार्यक्रमका साथ आर्थिक रुपमा सम्पन्न बनाउन जरुरी रहेको बताए ।