लमजुङमा कांग्रेसले गमप्रसाद गुरुङलाई उम्मेदवार बनायो

0

पोखरा । नेपाली कांग्रेसले लमजुङ निर्वाचन क्षेत्रमा गमप्रसाद गुरुङलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ।

गमप्रसाद गाउँ फर्किएर कृषि र जडिबुटी खेती गर्दै आएका छन्। कांग्रेसले यसपटक उनलाई टिकट दिएको हो। उनी कांग्रेसको जिल्ला सभापतिमा डा. टेकराज गुरुङसँग पराजित भइसकेका थिए। टेकराज अहिले गण्डकी प्रदेशको अर्थमन्त्री छन्। त्यसअघि गमप्रसाद कांग्रेस केन्द्रीय सदस्यसमेत रहिसकेका छन्। हाल उनी जिल्ला सदस्य हुन् र इमान्दार, स्वच्छ छविका नेता मानिन्छन्।

गगन थापा पक्षधर नेता गमप्रसादलाई यस निर्वाचनमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसँग प्रतिस्पर्धामा उतारिएको छ। नेकपाबाट हरिजङ तामाङ, र राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्म केसी उम्मेदवार बनेका छन्।

तत्कालीन जिल्ला विकास समिति सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका गमप्रसादले तितेपाती लगायत गाउँका जडिबुटी विदेश निर्यात गरेर सिर्जनात्मकता देखाएका छन्। कांग्रेसले उनलाई लमजुङमा बलियो उम्मेदवारका रूपमा हेरेको बताइएको छ।