बारा । नेपाली कांग्रेसले बाराको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टी सहमहामन्त्री फरमुल्लाह मन्सुरको गृहजिल्ला समेत रहेको बारामा चारै निर्वाचन क्षेत्रमा गगन पक्षधर उम्मेदवार पठाइएको बताइएको छ।
कांग्रेस बाराका युवा नेता नवराज त्रिपाठीका अनुसार:
- बारा–१ : शम्भुबहादुर बुढाथोकी
- बारा–२ : भैयाराम यादव
- बारा–३ : फरमुल्लाह मन्सुर
- बारा–४ : श्यामबाबु गुप्ता
‘बाराका चारै निर्वाचन क्षेत्रका उम्मेदवार गगन पक्षधर हुन्,’ त्रिपाठीले बताएका छन्।
यसक्रममा देउवा पक्षलाई बाइपास गरिँदा पूर्वमन्त्री एवं निवर्तमान सहमहामन्त्री उमाकान्त चौधरी क्षेत्र–१ बाट चुनाव लड्नबाट वञ्चित भएका छन्। पूर्व सभापति राधेचन्द्र यादवलाई क्षेत्र–२ मा चुनाव लड्नबाट वञ्चित गरिएको छ। यसअघि जिल्ला समितिले उनीहरूको नाम एकल सिफारिस गरिसकेको थियो।
कांग्रेस बाराका जिल्ला सभापति राजेश यादवले भने आफू समक्ष आधिकारिक उम्मेदवार सूची नआएको बताएका छन्। ‘पार्टीको आधिकारिक निर्णय म कहाँ नआएसम्म कुनै उम्मेदवारबारे केही बोल्न सक्दिनँ,’ उनले भने।
चारै उम्मेदवारमध्ये दुई उम्मेदवार पहिलोपटक चुनावी मैदानमा छन्। बारा–२ का यादव र बारा–४ का गुप्ता पहिलोपटक चुनाव लड्दैछन्। क्षेत्र–१ का बुढाथोकी २०७० को दोस्रो संविधान सभामा पराजित भइसकेका थिए भने क्षेत्र–३ का मन्सुर पनि २०७४ मा हारिसकेका छन्।
२०७९ को निर्वाचनमा समानुपातिक सूचीमा रहेपनि मन्सुर सांसद बन्न सफल भएनन्।








































