विदेशबाट फर्किएका नेपालीलाई स्वदेशमै बस्ने वातावरण मिलाउने कि ?

250

काठमाडौं । कोरोना कहरका कारण विदेशबाट फर्किनेको संख्या दिनप्रतिदिन बढ्दो छ ।
शुक्रबारसम्म ६० हजार ९ सय २६ जना नेपाली विभिन्न मुलुकबाट स्वदेश फर्किसकेका छन् ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जारी गरेको तथ्याङ्क अनुसार ५८ देशमध्ये सबैभन्दा बढी १६ हजार ९ सय ५० जना नेपाली युएइबाट फर्किएका छन् ।

दोस्रो फर्किने मुलुक मलेसियाबाट ९ हजार ४ सय ४१ जना नेपाली स्वदेश फर्किएका छन् । तेस्रोमा साउदीबाट ९ हजार २ सय ६, कुवेतबाट ६ हजार ८ सय ९७ जना र कतारबाट ७ हजार ३ सय ५० जना स्वदेश फर्किएका छन् । यो अवधिमा जापानबाट १ हजार ४ सय ९६ जना नेपाली स्वदेश फर्किएका छन् भने अस्ट्रेलियाबाट १ हजार २ सय ३५ जना स्वदेश फर्किएको उल्लेख छ ।
दक्षिण कोरियाबाट १ हजार १ सय ६५ जना फर्किएकोमा छिमेकी देश बङ्गलादेशबाट ८ सय ६५ जना फर्किएको सीसीएमसीले बताएको छ । यसैगरी, माल्दिभ्सबाट ८ सय ४५ जना फर्किएका छन् भने ओमानबाट ६ सय ६७ जना नेपाली स्वदेश फर्किएका छन् । हालसम्म संयुक्त राज्य अमेरिकाबाट ५ सय ९१ जना नेपाली स्वदेश फर्किएको बताइएको छ । यस्तै ५ सयभन्दा कम नेपाली स्वदेश आएको मुलुकमा थाइल्याण्डबाट ३ सय २६ जना स्वदेश फर्किएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा पहिला उद्धार गरिएको छिमेकी मुलुक चीनबाट अहिलेसम्म २ सय ५० जनाको उद्धार गरिएको छ । फर्कनै पर्ने अवस्थामा परी सोमालियाबाट एकजना मात्रै नेपाली स्वदेश फर्किएको सीसीएमसीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । यस्तै सयभन्दा कम सङ्ख्यामा नेपाली स्वदेश फर्किएको देशहरूमा इराक, स्वीजरल्याण्ड, इरान, इथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन र ग्रिस रहेका छन् ।
साथै, अष्ट्रिया, नेदरल्याण्डस्, बेल्जियम, इटली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानाडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायल लगायतका देशहरूबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका छन् । सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने काम अहिले पनि जारी राखेको छ ।

स्वदेशमा रोजगारीको अवसर नभएर विदेश होमिएका नेपालीहरू यतिबेला धमाधम आफ्नो देश फर्किरहेका छन् । यी उर्जाशील हातहरूलाई स्वदेशमै रोजगारी प्रदान गरी यहीं बस्ने वातावरण सिर्जना गरे देशको अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन आउने थियो कि ??