पारागनको २३औँ वार्षिकोत्सव : उत्कृष्ट शिक्षक,अभिभावकसहित ३५५ विद्यार्थी पुरस्कृत पारागनजस्तो विद्यालयको आवश्यकता

0
– हरिसुन्दर छुकां
भक्तपुर । आजको शिक्षा प्रणालीमाथि प्रश्न छ, `के हाम्रो शिक्षा विद्यार्थीको भविष्यका लागि पर्याप्त छ ?´ पाठ्यपुस्तक, परीक्षा र अङ्कमा सीमित शिक्षा प्रणालीले जीवनका वास्तविक चुनौती सामना गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्न सकेको छ कि छैन भन्ने बहस तीव्र बन्दै गएको छ। यही सन्दर्भमा भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमी (सेकेन्डरी बोर्डिङ स्कुल) को २३औँ वार्षिकोत्सव कार्यक्रममा वक्ताहरूले वर्तमान शिक्षाको अवस्थामाथि विमर्श गर्दै पारागन एकेडेमीको शैक्षिक अभ्यासबारे चर्चा गरेका छन् ।
वक्ताहरूले पारागन एकेडेमीको विशेषता भवन वा नाममा नभई यहाँ अपनाइएको विद्यार्थीकेन्द्रित शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप, सीपमूलक शिक्षा र नैतिक मूल्यमा आधारित शिक्षण शैलीमा रहेको उल्लेख गरे। उनीहरूले वर्तमान समयको आवश्यकता अनुसार शिक्षा दिने पारागन एकेडेमीजस्ता शैक्षिक संस्थाहरू देशभर अपरिहार्य भइसकेकोमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले पारागन एकेडेमीको अभ्यासलाई “शिक्षासँगै संस्कार सिकाउने मोडेल” का रूपमा व्याख्या गरे। उनका अनुसार सेवाको भावना, इमान्दारिता र अनुशासन बिना शिक्षा अधुरो हुन्छ । यही परिवेशमा पारागन स्कूलले यही खाडल पुर्ने प्रयास गरिरहेको उनकाे भनाइ छ । उनले भक्तपुर नगरमा संस्थागत र सामुदायिक विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा गराएर शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने अभ्यास समग्र शिक्षाका लागि सकारात्मक रहेको बताए।
नगर प्रमुख प्रजापतिले शिक्षा र संस्कारलाई अलगअलग गरेर हेर्न नसकिने उल्लेख गर्दै पछिल्लो समय शिक्षण पेशाप्रति सक्षम विद्यार्थीको आकर्षण घट्दै जानु चिन्ताजनक अवस्था भएको बताए। यसले दीर्घकालीन रूपमा शैक्षिक गुणस्तरमा असर पार्न सक्ने उनको भनाइ थियो। यही अवस्थालाई सुधार गर्न संस्थागत र सामुदायिक विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा गराउने नीति अघि बढाइएको उनले स्पष्ट पारे।“प्रतिस्पर्धाले गुणस्तर बढाउँछ,” उनले भने, “भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्यसहित शैक्षिक सुधारलाई प्राथमिकतामा राखिएको छ।”
उनले शिक्षण पेशाल रोजगारीका लागि सीमित नभई सेवाको भावना, इमान्दारिता र अनुशासन विकास गर्ने माध्यम हुनुपर्नेमा जोड दिए। सन्तानलाई सबैभन्दा ठूलो सम्पत्ति ठानी असल, अनुशासित र जिम्मेवार नागरिक बनाउने दायित्व अभिभावकको समेत हुने उनले बताए। विद्यालय, शिक्षक, अभिभावक र समाजबीच सहकार्य बिना गुणस्तरीय शिक्षा सम्भव नहुने उनको ठम्याइ थियो।
भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले पारागन एकेडेमीमा अपनाइएको सिकाइ पद्धति व्यवहारिक रहेको बताए। “नयाँ तरिकाले सोच्न सिकाउने विद्यालयले मात्र भविष्यका चुनौती सामना गर्न सक्ने विद्यार्थी उत्पादनमा स्कूलले भूमिका खेलिरहेको छ।´ उनले भने।
नेशनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता राणाले अभिभावकको अपेक्षा बुझ्ने, विद्यार्थीको रुचि पहिचान गर्ने र शिक्षालाई सीप तथा जीवनसँग जोड्ने विद्यालय नै आजको आवश्यकता भएको उल्लेख गरिन्। उनलेे भक्तपुर नगरपालिकाले शिक्षामा उल्लेखनीय काम गरिरहेको चर्चा गर्दै भक्तपुरको शिक्षालाई उत्कृष्ट बनाउन पारागन एकेडेमीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।
बालविकास विज्ञ सानू अमात्यले पारागनमा देखिएको प्रारम्भिक बाल विकासप्रतिको ध्यानलाई आजको शिक्षाको सही दिशा बताए। उनका अनुसार बालबालिका खुसी भए मात्र सिकाइ प्रभावकारी हुन्छ। पारागनले कक्षाकोठाभित्र मात्र होइन, गतिविधिमार्फत सिकाइलाई जीवनसँग जोडिरहेको उनले उल्लेख गरिन्। “शिक्षा, स्वास्थ्य, पोषण र संस्कारलाई एकसाथ हेर्ने अभ्यास आज दुर्लभ छ,” उनले भनिन्।
कार्यक्रममा मोटिभेसनल स्पिकर तुल्सीहरि प्रजापतिले विद्यार्थी लक्षित प्रेरणात्मक मन्तव्य दिएका थिए।  विद्यालय सञ्चालक समिति उपाध्यक्ष एवं व्यवस्थापक रत्नवीर किसीले पारागन एकेडेमीले सुरुदेखि नै शिक्षा नतिजामुखी मात्र नभई सीप, अनुशासन, संस्कार र जीवनोपयोगी व्यवहारमा केन्द्रित अभ्यास गर्दै आएको बताए। “विद्यालय राम्रो भयो भने मात्र समाज र राष्ट्र राम्रो बन्छ,” उनले भने, “त्यसका लागि व्यवस्थापन, शिक्षक र अभिभावकबीच विश्वास र सहकार्य अनिवार्य हुन्छ।”
विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा पारागनको शैक्षिक दृष्टिकोण स्पष्ट देखिएको थियो। उनका अनुसार यहाँ शिक्षा पाठ्यक्रम पूरा गर्ने प्रक्रियामा सीमित नभई विद्यार्थीलाई सोच्न, बोल्न, सहकार्य गर्न र निर्णय लिन सक्षम बनाउने अभ्यास हो। अतिरिक्त क्रियाकलाप, खेलकुद, सूचना प्रविधि कक्षा र सांस्कृतिक कार्यक्रमलाई नियमित पाठ्यक्रमकै अङ्ग बनाइएको उनले बताए।
स्वागत मन्तव्य विद्यालय क्याप्टेन उन्नति तामाङले दिएकी थिइन् भने पूर्व विद्यार्थी आश्रयाम दथुछेँले आफ्नो अनुभव साझा गरेका थिए। धन्यवाद ज्ञापन सेकेन्डरी इन्चार्ज सागर पराजुलीले गरेका थिए। कार्यक्रममा ३५५ विद्यार्थी विभिन्न विधामा पुरस्कृत भए। वर्ष विद्यार्थी, वर्ष शिक्षक, वर्ष अभिभावक, निरन्तर सेवा पदकजस्ता सम्मानहरूले विद्यालयको मूल्य–आधारित शिक्षालाई व्यवहारमै उतारेको सहभागीहरूले बताए।
वर्ष अभिभावक सम्मानबाट विजय तामाङ, समीर लामा र सोनम तामाङ सम्मानित भए भने वर्ष विद्यार्थी सम्मान सिजन भट्टराई, आरोही गणेश र निशान्त कर्माचार्यलाई प्रदान गरियो। निरन्तर सेवाको कदर गर्दै ५, १० र १५ वर्ष सेवा अवधि पूरा गरेका शिक्षक तथा कर्मचारीलाई विशेष पदक प्रदान गरियो।
चार घण्टाको औपचारिक कार्यक्रमपछि सम्पन्न तीन घण्टे सांस्कृतिक कार्यक्रममा ४७५ विद्यार्थीले नृत्य, गीत, नाटक तथा विविध सिर्जनात्मक प्रस्तुति दिएर शिक्षा र संस्कृतिको सुन्दर संगम प्रस्तुत गरे। यसले शिक्षा किताबमा मात्र सीमित नराखी प्रतिभा, संस्कृति र आत्मअभिव्यक्तिसँग जोड्ने पारागनको अभ्यासलाई उजागर गरेको थियाे।
विद्यालयको २३औँ वार्षिकोत्सव, पुरस्कार वितरण, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा शिक्षा, प्रशासन, विद्यालय व्यवस्थापन, अभिभावक र विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता विद्यार्थी व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीले गरेका थिए।