राजपा नेपाल लगायतका दलहरुको विरोधकाबीच भएको मतदानमा उल्लेख मतदाताको सहभागिता भएको छ । विहान ७ बजेबाट शुरु भएको मतदानको सयमा अपराह्न ५ बजेसकिएको छ । तर लाइनमा बसेकाहरुभने मत हालिरहेका छन् ।
दोस्रो चरणका निर्वाचनमा यस्ता केही घटना भएका छन् जुन दिनभर चर्चामा रह्योः
पानीमा चोपलिएर भोट
मध्य असारमा भएको चुनावको दिन विहान मतदान शुरु हुनु भन्दा अघि धेरै जसो जिल्लामा पानी परेको थियो ।
दाङ, बुटवल, झापा, अर्घाखाँची लगायत विभिन्न जिल्लामा वर्षाले मतकेन्द्र जलाम्मे भएका थिए ।
बुटवल लगायतका केही स्थानमा मत केन्द्रमा पानी जमेका कारण ढिला गरि मतदान शुरु भएको थियो । तर पनि मतदाता उत्साहपूर्ण रुपमा छाता ओढेर, पानीमा चोपलिएर मतदान गर्न व्यस्त भएका थिए ।
मतहाल्न जाँदा मृत्यु
मतदानका लागि मतकेन्द्र गएका तीन जनाको मृत्यु भएको छ । झापा, इलाम र पाल्पाका तीन मतदाताको मत हाल्न गएका बेला मृत्यु भएको थियो ।
मतपेटिकामा आगो
रोल्पाको रोल्पा नगरपालिकाको वडा नम्बर १० स्थित जनता आवासीय विद्यालयको भनभने मतकेन्द्रको एक मतपेटिकामा आगोलागेपछि केही बेर मतदान रोकिन पुग्यो । मतपत्रमा एसिड हालेर मतपेटिकामा खसालेसँगै आगो लागेको थियो । तर केही समयपछि दलहरुबीच सहमति भयो र पुनः मतदान सम्पन्न भएको छ ।
कांग्रस–एमाले कुटाकुट, मेयर घाइते
बाजुराको बुढीगंगा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ ।
एमालेका कार्यकर्ताले बुढीगंगाकाको मेयरका लागि नेपाली कांग्रेसका उम्मेदवा दीपक शाहमाथि आक्रमण गरेपछि दुई दलका कार्यकर्ताबीच झडप भएको हो । एमाले कार्यकर्ताको आक्रमणबाट घाइते भएका मेयर उम्मेदवार शाहलाई उपचारका लागि बारबिस स्वास्थ्य चौकीमा भर्ना गरिएको छ ।
एमाले कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवारमाथि आक्रमण गरेपछि कांग्रेस कार्यकर्ता पनि प्रतिकारमा उत्रिएका थिए । कांग्रेस कार्यकर्ताले पनि बुढीगंगाका लागि एमाले उम्मेदवार रामवहादुर बानियामाथि आक्रमण गरेका छन् । कांग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले उम्मेदवार पनि घाइते भएका छन् ।
हवल्दारले फालेको त्यो बम
दाङको तुलसिपुर उपमहानगरपालिकामा हवल्दार दुर्गाबहादुर रानाले अज्ञातसमूहले फालेको ग्रिनेड बम हातले टिपेर फाले , त्यसलगत्तै त्यो बम पड्कीयो । तर पनि निर्वाचन रोकिएन । उनलाई स्थानीयले सम्मान समेत गरेका छन् ।
प्रधानमन्त्रीको सुरक्षामा रहेको गाडी दुर्घटना
प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा ९भीमदत्त० राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा आज दुर्घटनामा परेको छ ।
से १ ज १५०३ नं को सो जिप सडकमै पल्टिँदा १० प्रहरी घाइते भएकामा दुई जनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुुढा मगरले जानकारी दिए ।
पूरै गाउँले नै भोट खसालेनन्
स्थानीय तह पुनर्संरचनामा चित्त नबुझाएको भन्दै सोलुखुम्बुको नेचा सल्यान गाविस वडा नम्बट ६ को तिङ्ला गाउँका मतदाताले बहिस्कार गरे । यो मतदान केन्द्रमा दिनभर निर्वाचनमा खटिएका कर्मचारी मतदाता कुरेर बसे तर कोही आएनन् ।
दुई भोट खसेको मतकेन्द्र
दक्षिणी नवलपरासीको सरावल गाउँपालिका ६ स्थित जनता मावि केन्द्रममा भने जम्मा २ मत मात्र खसेको छ ।
आफ्नो गाउँलाई अर्कै गाउँपालिकामा राख्नुपर्ने माग गर्दै आएका स्थानीयले स्वतस्फूर्त रुपमा मतदान वहिस्कार गरेका हुन् । कुल ५ सय ५० मतदाता रहेको उक्त केन्द्रमा जम्मा दुई मत खसेको छ ।
सय नाघेका मतदाता
२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा उमेर सय काटेकाहरुले पनि आफ्ना जनप्रतिनिधि छानेका छन् ।
बैतडी जिल्लाको सुरनया गाउँपालिकाको भूमिराज निमावि मतदान केन्द्रमा ११३ वर्षीय साउदले मतदान गरेका छन् ।
यस्तै, दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी १०५ र्षीया कलशी भट्टले भूमिराज निमावि तौकी मतदान केन्द्रमा मतदान गरेकी थइिन् भने गैँडहवा गाउँपालिका ३ का ११० वर्षीय वशिर मुसलमानले पनि मतदान गरेका छन् ।
स्ट्राचारमा लगिएका विरामीदेखि किरियापुत्रीसम्म हाले भोट
आजको मतदानमा किरियापुत्रीदेखि विरामीसमेत मतदानमा सहभागी भए । इलामको फाकफोकथुम गाउँपालिकाको सिंहदेवी मावि मतदान केन्द्र ‘ख’ मा स्ट्रेचरमा बिरामीलाई मतदान गर्न ल्याइएको थियो ।
आफ्नो पिताको शोकमा रहेका इटहरी ९ का राजेन्द्र कट्टेल ९१ वर्षीया आमा टङ्ककुमार कट्टेलको साथमा बुधबार स्थानीय तहको मतदान गर्ने मतकेन्द्र पुगेका थिए ।
ठूला नेताको भोट
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोला मतकेन्द्रमा पुगेर मतदान गरे । कांग्रेस नेताहरु शेखर कोइराला र सुजाता कोइरालाले विराटनगर महानगरपालिकाको आदर्श विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।
एमाले नेता भीम रावलले अछामको साँफेबगर नगरपालिकाबाट मतदान गरेका छन् । उनले वडा नम्बर ६ स्थित चन्द्रोदय आधारभूत प्रावि केन्द्रबाट विहान ७ बजे मतदान गरेका थिए ।
एमाले उपाध्यक्ष बामदेव गौतमले विहान सातै बजे मतदान गरेका छन् । गौतमले बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ को त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गरे ।
एमालेका नेता सुवास नेम्वाङ र कांग्रेस नेता केबी गुरुङले इलाम नगरपालिकाको एउटै मतदान केन्द्रमा मतदान गरेका छन् । उनीहरुले बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्र हाकिमटोलबाट मतदान गरे ।lokantar