शिक्षक तथा कर्मचारीलाई बेथानचोकको निर्देशन निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्नु

2

काभ्रेपालाञ्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बेथानचोक गाउँपालिका ले आफ्ना कर्मचारी तथा शिक्षकहरूलाई निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न निर्देशन दिएको छ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोग नेपाल ले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ को सन्दर्भमा गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण कर्मचारी तथा शिक्षकहरूलाई उक्त आचारसंहिता अनिवार्य रूपमा लागू हुने जनाएको छ।

गाउँपालिकाद्वारा जारी सूचनामा आसन्न निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरूको पक्ष वा विपक्षमा भौतिक रूपमा उपस्थित हुने, सामाजिक सञ्जालमा समर्थन वा विरोधमा टिप्पणी गर्ने, प्रचारप्रसार गर्ने, मत माग्ने वा अन्य कुनै माध्यमबाट चुनावी गतिविधिमा संलग्न नहुन स्पष्ट निर्देशन दिइएको छ।

सूचनामा उल्लिखित प्रावधान विपरीत गतिविधि गरेमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने समेत चेतावनी दिइएको छ।