कर्णालीका रैथाने बालीलाई ‘जिआई’ मार्फत अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने तयारी

0

सुर्खेत । कर्णाली प्रदेशमा भौगोलिक रूपमा बढी उत्पादन हुने स्थानीय तथा रैथाने बालीलाई भौगोलिक सङ्केत (जियोग्राफिकल इन्डिकेसन–जिआई) प्रदान गर्ने तयारी थालिएको छ। निश्चित स्थानमा विशेष रूपमा उत्पादन हुने वस्तुलाई कानुनी मान्यता दिई ब्रान्डिङ र बजारीकरण गर्ने उद्देश्यले यस्तो पहल अघि बढाइएको हो।

यस कार्यका लागि Food and Agriculture Organization (एफएओ) ले Ministry of Agriculture and Livestock Development सँग सहकार्य गर्दै कानुन निर्माण र कार्यान्वयनका प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

बिहीबार सुर्खेतमा आयोजित प्रादेशिक सचेतना कार्यक्रममा विज्ञहरूले कर्णालीका उत्पादनलाई जिआईमार्फत विश्व बजारमा ब्रान्डिङ गर्न सकिने बताएका छन्। यसले उत्पादन वृद्धि, बजारीकरण सुदृढीकरण र कृषकको आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। साथै, कुन क्षेत्रमा कुन बाली बढी उत्पादन हुन्छ भन्ने पहिचान गर्न पनि जिआई प्रभावकारी हुने उनीहरूको भनाइ छ।

मन्त्रालयका उपसचिव मणिरत्न अर्यालका अनुसार कर्णाली र सुदूरपश्चिममा भौगोलिक विविधताका कारण विशिष्ट उत्पादन हुने भएकाले तिनलाई जिआईमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकिन्छ। त्यसका लागि आवश्यक कानुनी संरचना निर्माण र सुझाव संकलनको काम भइरहेको उहाँले जानकारी दिनुभयो।

जिआई विज्ञ स्टेफन पसेरीले भौगोलिक सङ्केतले स्थानीय उत्पादनको संरक्षण, अन्तर्राष्ट्रिय बजार विस्तार र कृषकको बौद्धिक सम्पत्ति सुरक्षित गर्न सहयोग गर्ने बताउनुभयो। विश्वका धेरै देशले यस प्रणाली लागू गरिसकेको उल्लेख गर्दै उहाँले यसको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

एफएओका मूल्य शृङ्खला विज्ञ किरण मैनालीका अनुसार प्रारम्भिक चरणमा कर्णालीका तीनदेखि चार प्रमुख उत्पादनलाई नमुना रूपमा छनोट गरी जिआई प्रक्रिया सुरु गर्न सकिन्छ।

कर्णाली प्रदेशमा जडीबुटी, टिमुर, स्याउ, अदुवा, बेसार, आलु, मार्सीजस्ता रैथाने उत्पादन प्रशस्त मात्रामा हुने गरेका छन्। यी उत्पादनलाई जिआई प्रदान गरी अन्तर्राष्ट्रिय स्तरमा निर्यात र ब्रान्डिङ गर्न सकिने सम्भावना देखिएको छ।

कार्यक्रममा सहभागी जडीबुटी व्यवसायी तथा सरोकारवालाले रैथाने बाली लोप हुने अवस्थामा पुगेको भन्दै संरक्षण, प्रशोधन केन्द्र स्थापना र प्रभावकारी बजारीकरणको आवश्यकता औँल्याएका थिए। उत्पादन भएर पनि बजार अभावका कारण उचित आम्दानी गर्न नसकिएको गुनासो उनीहरूले गरेका छन्।