सुलीकोट । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका विभिन्न उच्च भिरालो क्षेत्रमा यतिबेला स्थानीय बासिन्दा परम्परागत शैलीमा भिरमौरीको मह संकलन गर्न व्यस्त भएका छन्। पुस्तौंदेखि चलिआएको यो पेशा स्थानीय समुदायको महत्वपूर्ण आयआर्जनको स्रोतका रूपमा स्थापित हुँदै आएको छ।
स्थानीयहरू अग्ला चट्टानमा डोरीको सहारामा झुण्डिएर भिरमौरीले बनाएका ठूला घारबाट मह निकाल्ने गर्छन्। जोखिमपूर्ण मानिने यो कार्यका लागि विशेष सीप, साहस र लामो अनुभव आवश्यक पर्ने स्थानीय बासिन्दा सुमित्रा गुरुङ बताउनुहुन्छ।
मह संकलन गर्नुअघि घार वरिपरि धुवाँ लगाएर मौरीलाई केही समयका लागि टाढा हटाइन्छ। त्यसपछि संकलनकर्ताहरू डोरीको सहारामा भिरबाट तल झरेर घार काट्ने र मह संकलन गर्ने प्रक्रिया अपनाउँछन्।
स्थानीय बासिन्दा रोजन गुरुङका अनुसार भिरमह प्राकृतिक रूपमा उत्पादन हुने भएकाले यसको विशेष महत्व रहेको छ। औषधीय गुण भएको विश्वासका कारण बजारमा यसको उच्च माग रहने गरेको छ। धार्चे गाउँपालिका–३ का वडा अध्यक्ष शेरबहादुर गुरुङका अनुसार केही स्थानमा पाइने ‘रेड हनी’ अर्थात् विशेष प्रकारको महको मूल्य अन्य महभन्दा बढी हुने गरेको छ।
मह संकलनबाट स्थानीय समुदायले राम्रो आम्दानी गर्दै आएका छन्। ग्रामीण क्षेत्रका धेरै परिवारको जीविकोपार्जनको प्रमुख आधारमध्ये भिरमह पनि एक हो। पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकले समेत भिरमह संकलन प्रक्रियाप्रति चासो देखाउन थालेपछि यसले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ।
स्थानीयका अनुसार यहाँ उत्पादित मह प्रतिमाना एक हजार पाँच सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। भिरमौरीको महमा औषधीय गुण बढी हुने विश्वासका कारण अधिकांश मह घरायसी प्रयोजनमा प्रयोग गरिन्छ भने बाँकी मह देश तथा विदेशसम्म निर्यात हुने गरेको सुमित्रा गुरुङले बताउनुभयो।
तर पछिल्लो समय जलवायु परिवर्तन, वन विनाश तथा मौरीको बासस्थानमा आएको कमीका कारण भिरमौरीको संख्या घट्ने चिन्ता बढ्दै गएको छ। स्थानीय बासिन्दा तथा सरोकारवाला निकायले मौरी संरक्षणसँगै सुरक्षित र व्यवस्थित रूपमा मह संकलन गर्न आवश्यक रहेको बताएका छन्।
धार्चे गाउँपालिका–१ को हुल्चुक, वडा नं. २ को रुन्चेत तथा वडा नं. ३ का खोर्ला र उहियालगायत क्षेत्रका दर्जनौँ भिरमा अहिले भिरमौरीको मह संकलन भइरहेको छ। परम्परागत सीप र प्राकृतिक सम्पदासँग जोडिएको यो पेशाले स्थानीयको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।








































