उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकाद्वारा पुष्टि

378

काठमाडौं । उत्तर कोरियाले मंगलवार परिक्षण गरेको मिसाइल अन्तरमहादेशीय क्षेप्यास्त्र भएको अमेरिकाले पनि पुष्टि गरेको छ ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाले सी अफ जापानमा मंगलबार अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै टिलर्सनले अमेरिकाविरुद्ध प्योङयाङले उत्पन्न गराएको खतरालाई त्यसले प्रतिनिधित्व गरेको उल्लेख गरेका छन् ।

योसँगै उत्तर कोरिया अमेरिकाको अलास्का राज्यसम्म मार हान्न सक्षम भएको छ जसलाई परिस्थिति बदल्न सक्ने विकासक्रमको रुपमा हेरिँदैछ ।

तर यो कुरा स्पष्ट भइसकेको छैन कि उत्तर कोरियाको पछिल्लो कदमलाई लिएर थप कस्ता कूटनीतिक प्रतिबन्ध लगाइनेछ ।

चीन र रुसले पारमाणविक कार्यक्रम स्थगित गर्न उत्तर कोरियालाई आह्वान गरेका छन् । उनीहरुले अमेरिका र दक्षिण कोरियालाई संयुक्त सैन्य अभ्यास रोक्न पनि अपील गरेका छन् ।

मस्कोमा भएको भेटवार्तापछि चिनियाँ राष्ट्रपति शी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले प्योङयाङलाई आफ्ना पारमाणविक गतिविधि स्थगित गर्न संयुक्त रुपमा आह्वान गरेका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले प्योङयाङविरुद्ध कदम चाल्न सुरक्षा परिषद्लाई आग्रह गरेका छन्।
यसअघि मंगलबार सी अफ जापानमा खसेको क्षेप्यास्त्रले विश्वमा रहेको जुनसुकै निशानालाई मार हान्न सक्ने भन्दै उत्तर कोरियाली टेलिभिजनमा घोषणा गरिएको थियो ।