काठमाडौं । विभिन्न यातायात व्यवसायीका संगठनहरुले यातायात क्षेत्रका समस्याबारे सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन र गणतान्त्रिक यातायात व्यवसायी राष्ट्रिय मञ्चले संयुत्त रुपमा समस्या समाधानका लागि सरकारसंग आग्रह गरेका हुन् ।
दुवै संगठनका प्रतिनिधि डोलनाथ खनाल, हेमन्त शेरचन, भरत तिमल्सिना, बसन्त भण्डारी लगायतले आईतबार प्रधानमन्त्री के.पी शर्मा ओली र यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्गलाई भेटी लकडाउन र निशेधाज्ञाले यातायात क्षेत्र अस्तव्यस्त भएकाले सोबारे पुनर्विचार गर्न माग गरेका हुन् ।
लकडाउन र निशेधाज्ञाका कारण यातायात क्षेत्रमा हालसम्म १० अर्ब रुपैंयाको क्षती भइसकेको भन्दै अब वैकल्पिक उपाय अपनाउनु पर्नेमा पनि व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बन्दाबन्दीका कारण करीब ३ लाख सवारी साधनमा निकै नोक्सान पुग्नुका साथै ४० लाख मजदुरहरुको जनजिवन निकै कष्टकर बनेको छ ।
लकडाउन र निषेधाज्ञाका कारण यातायात क्षेत्र नै तहसनहस हुने अवस्थामा पुगेको भन्दै सो अवस्थालाई मध्यनजर गरी समाधानका लागि व्यवसायीहरुले सरकारसंग पहल गरेका हुन् ।
सरकारको नियमलाई पालना गर्दै करिब ६ महिनासम्म गाडीहरु थन्क्याएरै राखेको भन्दै अब भने सुरक्षाका मापदण्ड अपनाई गाडी चल्ले वातावरण बनाउन व्यवसायीहरुले सरकारसंग माग गरेका हुन् ।
यो संगै व्यवसायीहरुले यातायात क्षेत्रका अन्य समस्याहरुबारे पनि सरकारलाई ध्यानाकर्षण गराएका छन् । सरकारसंगको वार्ता सकरात्मक बनेको व्यवसायीहरुले यातायात टाईम्सलाई जानकारी दिएका छन् ।
नेपालमा कोरोना संक्रमित भेटिन थालेपछि सो फैलन नदिनका लागि भन्दै सरकारले गत चैत्र ११ गतेबाट देश नै साउन ७ गतेसम्म लकडाउन गर्यो । तत्पश्चात नै हालसम्म लामो दुरीका यातायात सञ्चालन हुन सकेको छैन भने छोटो दुरीका यातायात पनि केही समय मात्रै चल्न पाए । बन्दाबन्दीमा पनि कोरोना संक्रमितको संख्या घट्नुको सट्टा झन् झन् बढ्दै गएको भन्दै अब सावधानी अपनाएर काममा फर्कनु पर्ने व्यवसायीहरुको निष्कर्ष छ ।