पहिलो सोमबार डोलेश्वरमा भक्तजनको भीड

475

भक्तपुर । श्रावणको पहिलो सोमबार केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लै भीड देखिएको छ ।

भगवान शिवको भब्य आराधना ,तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

मेलामा काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागी लाईनमा पालो कुरिरहेका थिए ।

२०६६ साल भाद्र ६ गते केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको श्रावण महिनाभरी मन्दिरमा पूजा पाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।

यसैबीच केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा हिजो आइतबारबाट ३८ दिने श्रावणी मेला सञ्चालन भईरहेको समितिका सचिव एवं प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले बताए ।

यस महिनाको पाँचैवटा सोमबार परेकाले शिवको आराधना अनि जल चढाउने कामनाका साथ अझ बढी भक्तजनले यहाँ दर्शन गर्नु हुने उनले जानकारी दिए ।

यसैगरी भक्तपुरको दत्तात्रय मन्दिरमा पनि भक्तजनहरुको ठुलो भिड लागेको छ । बिहान ५ बजे देखि लाईन बसेर भक्तजनहरु दर्शन गरिरहेका छन् ।

दत्तात्रयलाई ब्रम्हा, बिष्णु, महेश्वर गरि तिन रुपमा पुजिने गरिन्छ । दत्तात्रयमा बिशेष गरी श्रावण महिना र शिवरात्रीको बेला भव्य मेला लाग्ने गर्छ ।