काठमाडौं । वायुसेवा कम्पनीहरु बुकिङ खुलाउने तयारीमा जुटेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ असोजबाट आन्तरिक उडान खोल्ने निर्णय लिएसंगै वायुसेवा कम्पनीहरु बुकिङ खुलाउने तयारीमा जुटेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सरकारले अहिलेसम्म उडान खुला हुने गन्तब्यको सूची दिइसकेको छैन । उनका अनुसार पहिलो चरणमा सबै गन्तब्यमा शतप्रतिशत उडान भने खुल्ने छैनन् ।
यसअघि १ भदौबाटै उडान खोल्ने निर्णय सरकारले गरेको थियो । सोअनुसार पनि प्राधिकरणले पहिलो चरणमा साविकमा हुँदै आएको उडानको ३३ प्रतिशत मात्र अनुमति दिने गरी वायुसेवा कम्पनीलाई उडानको अनुमति दिएको थियो ।
अब सुरु हुने उडानमा भने स्वास्थ्य मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेपछि जहाज चढ्न पाइन्छ । यसमा ज्वरोसहित कोरोनाको लक्षण भएका बिरामीले जहाज चढ्न पाउने छैनन् ।
सबै यात्रुलाई ज्वरो नाप लिएर मात्र जहाजमा जाने अनुमति हुनेछ । सबै यात्रुले जहाज चढ्नु अगाडी अब आफ्नो परिचय र यात्रा विवरण खुल्ने फारम भर्नुपर्छ । यात्राका दौरान मास्क अनिवार्य गरिएको छ ।