डलर १० महीनाकै न्यून विन्दुमा

322

लण्डन (बेलायत) । अमेरिकी डलरको भाउ १० महीनाकै न्यून विन्दुमा आएको छ । यसै हप्ता विश्वका केही प्रमुख केन्द्रीय बैङ्कहरूको नीतिगत बैठक बस्दै छ । यस्तोमा बुधवार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलर सूचक घटेको हो । यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी) र बैङ्क अफ जापान (बीओजे)को बैठक यसै हप्ता बस्दै छ । उता, यूरो र येनको भाउमा हालै भएको वृद्धिले दुबै बैङ्कलाई ‘डोभिश’ अडान लिन प्रेरित गर्ने र डलरको भाउ घट्ने चिन्ता गरेका छन् ।

‘निकै छोटो समयमा यी मुद्राका तुलनामा डलरको भाउ घटेको छ र यी बैङ्कका नीति निर्माताहरूले डोभिश अडान लिन सक्ने कुनै पनि सङ्केतले यसको भाउ झनै घट्नेछ,’ सीएमसी मार्केट्सका प्रमुख बजार विश्लेषक माइकल हिउसनले भने । ओबामाकेयर बिल स्थगित गर्न रिपब्लिकन कानून निर्माताहरू असफल बनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पका बाँकी रहेका सुधार एजेण्डाको भविष्यसम्बन्धी चिन्ताले डलर दबाबमा आएको छ । मुद्रास्फीति एवम् खुद्रा विक्रीको तथ्याङ्कका साथै कङ्ग्रेसमा प्रमुख आर्थिक प्रोत्साहन विधेयक पारित गर्न सक्ने ट्रम्पको क्षमतामा उब्जिएको सन्देहले पनि डलरको भाउलाई प्रभावित पारेको हो ।

बुधवार मुद्रा डालोमा आबद्ध प्रमुख ६ मुद्राका तुलनामा डलरको भाउ मापन गर्ने सूचक शून्य दशमलव १ प्रतिशतले घटी ९४ दशमलव ७४ अङ्कमा आएको थियो । मङ्गलवार यो सन् २०१६ को सेप्टेम्बर उताकै न्यून विन्दु अर्थात् ९४ दशमलव ४७६ मा आएको थियो । त्यसैगरी, डलरको तुलनामा यूरोको भाउ शून्य दशमलव २ प्रतिशतले बढेर १ डलर १५३४ सेण्टमा आएको थियो । ईसीबीको नीतिगत बैठक बिहीवार बस्दै छ । नीतिनिर्माताहरू मौद्रिक नीतिलाई विस्तारै सामान्य बनाउन लागेकाले सो बैठकमा उनीहरू आफ्नो भाषामा तालमेल ल्याउने अपेक्षा गरिएको छ । बीओजेको नीतिगत बैठक पनि बिहीवार नै बस्दै छ । सो बैठकमा नीतिनिर्माताहरूले आर्थिक वृद्धिको प्रक्षेपण बढाउने तर मुद्रास्फीति परिदृश्यमा कटौती गर्ने अपेक्षा गरिएको स्रोतले बताएका छन् । एजेन्सी