भक्तपुर : सूर्यविनायक नगरपालिका-६, कटुञ्जेस्थित सुवर्णेश्वर डाँडामा लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको सालिकसहितको वाटिका अझै बन्न सकेको छैन ।साविक कटुञ्जे गाविस वडा नम्बर ६ स्थित एक सय ४८ रोपनी क्षेत्रफलमा फैलिएको डाँडामा सिंहको नाममा वाटिका निर्माणका लागि तीन वर्षअघि गुरुयोजना बनाइएको थियो ।
त्यसका लागि सरकारले उक्त जग्गा स्थानीय गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिलाई उपलब्ध गराएको थियो । समितिले भने साख समूहका प्रभातप्रकाश साखसँगको साझेदारीमा वाटिका बनाउने सम्झौता गरेको थियो । साखले सम्झौताअनुसार भक्तपुरकै मेथड कन्सल्ट्यान्टमार्फत करिब १२ करोड लागत लाग्ने गरी वाटिकाको गुरुयोजना निर्माण गरेका थिए ।
समितिले साखसँग बढीमा पाँच वर्षभित्र निर्माण अवधि राखेर थप ३५ वर्षका लागि उक्त जग्गा भाडामा दिने सम्झौता गरेको थियो । साखले गुरुयोजनाअनुसार नै वाटिका निर्माण कार्य अघि बढाएका थिए । तर, उनको निधन हुँदा प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमान्डर सिंहको जीवनीमा आधारित वाटिका निर्माण ठप्प हुन पुगेको हो ।
मेथडले सिंहको जन्मदेखि सरकारी जागिर खाएर छोडेको, उच्च शिक्षा हासिल गर्न भारतको कोलकाता गएको, त्यहीं राजनीतिक संगठनमा आवद्ध भएको, राणा शासनविरुद्ध संघर्ष गरेको, प्रजातन्त्र प्राप्त भएको घटनाक्रमलाई उजागर गर्ने भौतिक संरचनासहितको गुरुयोजना बनाएको थियो । त्यस्तै, राणाशासन अन्त्यसँगै पुनः पञ्चायती शासन आएको, पञ्चायतविरुद्ध संघर्ष गर्दा जेल परेको र जेल फोडेर भागेको घटना, प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको, प्रधानमन्त्री पद अस्वीकार गरेको, कांग्रेस पार्टी त्यागेकोलगायत घटनालाई उजागर गर्ने भौतिक संरचना वाटिकाभित्र निर्माण हुने गरी गुरुयोजना बनाइएको मेथडका प्रबन्ध निर्देशक इन्जिनियर तुलसीलाल बासुकलाले बताए ।
‘वाटिकालाई मनोरञ्जन गर्ने स्थलका रूपमा लिइन्छ’, प्रबन्ध निर्देशक बासुकलाले भने, ‘तर, गुरुयोजनाअनुसार वाटिका निर्माण हुन सके स्व. गणेशमान सिंहबारे जान्न र बुझ्न अन्यत्र जानै पर्दैन । गणेशमानसँग सम्बन्धित सम्पूर्ण घटना र त्यसको प्रतीक वाटिकाभित्रै पाउन सकिनेछ ।’ साखको निधनसँगै गुरुयोजनाअनुरूप काम हुन नसकेको उनको भनाइ छ ।







































