नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ ।
छ लाख ९० हजार जनसंख्या रहेको जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा ६९ हजार १०५ मेट्रिक टन दूध उत्पादन भएको थियो ।
जिल्लामा औसतमा प्रतिव्यक्ति ९८ लिटर दूध पुग्ने अवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिव आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार जिल्लामा प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो मासु उपभोग गर्नुपर्ने देखिएको छ । उक्त मापदण्डलाई जिल्लाले पूरा गरेको छ ।
जिल्लामा गत आवमा १३ हजार ७१९ मेट्रिक टन स्वस्थ मासु उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
पशुपन्छीजन्य वस्तुमा आत्मनिर्भर जिल्ला घोषणा गर्नका लागि भविष्यमा उक्त वस्तुको उत्पादनमा वृद्धि हुने आधार हुनुपर्ने, उपभोगका लागि अन्य जिल्लाबाट आयात गर्न नहुने र सो ठाउँका व्यक्तिले उक्त वस्तु उपभोग गर्नुपर्नेलगायत महत्वपूर्ण सूचक रहेका छन् ।







































